अन्तरपालिका समन्वयको अभ्यासमा ‘गाउँका सिंहदरबार’



राप्ती सोनारी गाउँपालिकाको आयोजनामा भएको अन्तर स्थानीय तह समन्वय बैठकमा तीनवटै पालिकामा सुरु गरिएका असल अभ्यासबारे व्यापक छलफल गरिएको छ । बैठकमा राप्ती सोनारी, खजुरा र बैजनाथले भोगिरहेका समस्या, सीमा विवाद, विकास निर्माणमा साझेदारी गर्ने विषयमा समेत छलफल भएको थियो । आगामी दिनमा बैठकलाई चक्रिय रूपमा सञ्चालन गर्ने बताइएको छ ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

छाडा पशु चौपाया व्यवस्थापन खजुरा गाउँपालिकाको प्रमुख समस्या हो । त्यसको व्यवस्थापनका लागि खजुरासँग जंगल र घाँसपात उपलब्ध हुने अवस्था छैन । ती पशुहरूको व्यवस्थापन राप्ती सोनारीमा रहेको गौशालामा गर्नेगरी औपचारिक रूपमा पहलकदमी सुरु भएको छ । खजुराको अर्को समस्या काठजन्य बस्तु हो । नदीजन्य पदार्थहरू खजुरामा कसरी आपूर्ति गर्न सकिन्छ ? सहकार्य गरेर अघि बढ्ने प्रस्ताव अघि सारिएको छ ।

खजुराका अध्यक्ष डम्बरबहादुर विक तुफान भन्छन्, ‘त्यसको विकल्प राप्ती सोनारी हो । बैजनाथको पनि केही भूमिका रहन्छ । यसमा तीनवटै पालिका कानुनी रूपमै स्पष्टता कायम गरेर अघि बढ्नुपर्छ ।’ खजुरामा जमिन छ, तर जंगल र पानी छैन । यी दुवै कुराको आपूर्तिको लागि राप्ती सोनारी र बैजनाथसँग निर्भर हुनुपर्ने अवस्था छ । अन्तरपालिका समन्वयबाट मात्रै खजुराको विकास हुन सक्नेमा अध्यक्ष विकले जोड दिए।

सीमा क्षेत्रको विकासका लागि उनले बैजनाथसँग सहकार्यका लागि प्रस्ताव गरे । उनले शनिबार राप्ती सोनारी गाउँपालिकाद्वारा आयोजित स्थानीय तह समन्वय बैठकमा खजुराका समस्या र अन्तरपालिका समन्वय गरेर समाधान गर्न सकिनेमा जोड दिएका थिए । राप्ती सोनारी गाउँपालिकामा आव २०८१–०८२ मा सम्पन्न गरेका कार्यहरूको सिकाइ र अनुभव आदानप्रदान कार्यक्रम तथा समन्वय बैठकमा खजुरा र बैजनाथमा हुने विकास निर्माणको लागि आवश्यक पर्ने नदीजन्य पदार्थको निर्यात गर्न तयार रहेको राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेल बताए ।

उनका अनुसार राप्ती सोनारीमा सुरु गरिएका असल अभ्यास खजुरा र बैजनाथलाई सुनाउने ती पालिकाका असल अभ्यास ग्रहण गर्ने उद्देश्यले अन्तरपालिका समन्वय बैठक आह्वान गरिएको हो । स्थानीयस्तरमा विकासका सम्भावनालाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम तय गरी गाउँपालिकाले असल अभ्यास गर्दै आएको बताए । राज्यका तीन तहका सरकारमध्ये नागरिकको नजिकैको सरकार भनिने स्थानीय तहबाट गर्न सकिने विकासका गतिविधिले बढी प्रभाव पार्ने अध्यक्ष पौडेलको भनाइ छ । शिक्षा, स्वास्थ्य, खाद्यान्न र सडक सञ्जालमा अन्य पालिकाको तुलनामा उल्लेख्य काम भएको गाउँपालिकाले जनाएको छ ।

बैजनाथ गाउँपालिकाको असल अभ्यासका रूपमा गाउँपालिकाले ‘किसानसँग पालिका प्रमुख कार्यक्रम’ सञ्चालन गरिरहेको छ । अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार देशभरका ७५३ वटै स्थानीय तहमध्ये यो कार्यक्रम बैजनाथको मौलिक कार्यक्रमका रूपमा रहेको छ । ७५ प्रतिशत किसान परिवार रहेको बैजनाथमा कार्यविधि नै निर्माण गरेर ७० प्रतिशत अनुदानमा किसानहरूलाई विभिन्न कृषि सामग्री वितरण गरिएको अध्यक्ष शाहीले बताए ।

कृषि क्रान्तिमार्फत स्वरोजगार निर्माण गर्ने प्रमुख लक्ष्य गाउँपालिकाले राखेको छ । सोही कार्यक्रमका लागि आगामी आर्थिक वर्षको लागि समेत सात करोड बजेट विनियोजन गरिएको छ । ‘बैजनाथमा यस्ता थुप्रै असल अभ्यास छन् । ती असल अभ्यास खजुरा र राप्ती सोनारीमा समेत लागु गर्न सकिन्छ । त्यसैको लागि अन्तरपालिका समन्वय अत्यावश्यक छ । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।’ अध्यक्ष शाहीले भने ।

उनले समन्वय बैठकमा अन्य पालिकामा सुरु भएका असल अभ्यास आगामी दिनमा गाउँपालिकामा लागु गर्ने प्रतिबद्धता व्यक्त गरे । पछिल्लो समय बाँकेका स्थानीय सरकारले अन्तरपालिका समन्वयको नौलो अभ्यास सुरु गरेका छन् । यसअघि खजुरा गाउँपालिका र जानकी गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक आयोजना भएको थियो । त्यसको केही महिनामै जिल्लाका राप्ती सोनारी, खजुरा र बैजनाथ गाउँपालिकाबीच अन्तरपालिका समन्वय बैठक आयोजना गरिएको हो ।

उक्त बैठकमा बोल्ने तीनै वटा स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यक्रम स्वागतयोग्य भएको भन्दै आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिए । आगामी दिनमा पनि तीन पालिकाबाट बैठक आह्वान गर्ने प्रतिबद्धतासहित साझा घोषणापत्रसमेत सार्वजनिक गरिएको छ । यस्ता बैठकलाई निरन्तरता दिने निचोडसहित प्रतिबद्धता सार्वजनिक गरिएको राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

उनका अनुसार राप्ती सोनारी गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका समन्वय बैठकलाई खजुरा र बैजनाथले स्वागतसहित धन्यावाद व्यक्त गरेका थिए । आगामी दिनमा सम्भव भएसम्म जिल्लाकै सम्पूर्ण स्थानीय तहबीच समन्वय बैठकको पहल गर्ने र तीन पालिकाले सक्रिय रूपमा बैठक आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । तीन स्थानीय तहमध्ये आगामी आर्थिक वर्षको अर्धवार्षिक समीक्षाको समयमा खजुरा गाउँपालिका र आर्थिक वर्षको अन्त्यमा बैजनाथ गाउँपालिकाले बैठक आह्वान गर्ने निर्णय गरिएको छ ।

‘यो ऐतिहासिक कदम हो’

राप्ती सोनारी गाउँपालिकाद्वारा आयोजित आव २०८१–०८२ मा सम्पन्न गरेका कार्यहरूको सिकाइ र अनुभव आदानप्रदान कार्यक्रम तथा अन्तर स्थानीय तह समन्वय बैठक÷कार्यक्रममा बोल्दै तीन वटै गाउँपालिकाका जनप्रतिनिधिहरूले आफूहरू निर्वाचित भएको तीन वर्षपछि पहिलोपटक आयोजित कार्यक्रमलाई ढिलो सुरु भएको असल अभ्यास भएको बताएका छन् ।

कार्यक्रममा बोल्ने अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरूले ऐतिहासिक कदम भएको प्रतिक्रिया दिएका हुन् । बैजनाथ गाउँपालिकी उपाध्यक्ष निर्मला रोकायाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । ‘हामीले आ–आफ्नो पालिकामा काम गरिरहेका छौँ । तर सिकाइ अमूल्य हुन्छ । यस्ता कार्यक्रम अवसर हुन् । समस्या सुन्ने अवसर मिल्यो । सुनाउने अवसर मिल्यो ।’ उपाध्यक्ष रोकायाले भनिन् ।

स्थानीय सरकारबीच सीमा विवाद भएको भन्दै यस्ता विषयमा समेत छलफल हुनुपर्ने उनको भनाइ थियो । खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले राप्ती सोनारी गाउँपालिकाले बैठक आह्वान गरेर असल अभ्यासको सुरुवात गरेको बताइन् । उनका अनुसार स्थानीय सरकारले धेरै नै चुनौती खेपिरहेका छन् । ती समस्या एक्लै समाधान गर्न सकिने छैनन् । ती समस्या समाधानको लागि अन्तरपालिकाबीच समन्वय हुन आवश्यक रहेको उपाध्यक्ष मल्लले बताइन् । उनले भनिन्, ‘राप्ती सोनारीले धेरै असल अभ्यास गरेको रहेछ ।

कति कुरा हामीले गरेका छौँ । बैजनाथका समेत कुरा सन्ने अवसर मिल्यो । आजको बैठकबाट हामीलाई पनि सिकाइ भएको छ । आगामी दिनमा लागु गर्नेछौँ ।’ यस्तै, बैजनाथ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष प्रेमबहादुर शाहीले समन्वय बैठक स्वागतयोग्य तथा आगामी दिनमा निरन्तरता दिनुपर्नेमा जोड दिए । खजुरा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले संविधानमा तीन तहका सरकारबीच समन्वय हुने भनिएपनि नभएको भन्दै स्थानीय सरकारलाई काम गर्न चुनौती देखिएको बताए ।

उनका अनुसार सबै स्थानीय तह मिलेर साझा मुद्दामा प्रदेश र संघीय सरकारसँग समस्या र चुनौतीका विषयमा खुल्ला छलफल हुन आवश्यक छ । उक्त अवसरमा अन्तरपालिका समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो । बैठकमा राप्ती सोनारीसहित खजुरा र बैजनाथ गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

तप्तबहादुर पौडेल अध्यक्ष, राप्ती सोनारी गा.पा.

स्थानीय सरकारका ऐन नियम कसरी निर्माण भइरहेका छन् ? गाउँ सभा सञ्चालनको अभ्यास कस्तो छ ? विकास क्यालेण्डर, अनुदानको सन्दर्भ, आर्थिक सहयोगको अवस्था लगायतका विषयमा जानकारी लिने र दिने बैठकको उद्देश्य हो । पहिलोपटक आयोजना गरिएको बैठकमा राप्ती सोनारीका असल अभ्यासबारे जानकारी गराइएको छ । सो अवसरमा खजुरा र बैजनाथका समेत असल सभ्यास सुन्यौँ । हामीले एउटा अभ्यासको सुरुवात गरेका छौँ । यस्ता कार्यक्रम निरन्तरता होस् भन्ने चाहन्छौँ ।

डम्बरबहादुर विक तुफान,अध्यक्ष, खजुरा गा.पा.

खजुरा गाउँपालिकाले यसअघि जानकीसँग अन्तरपालिका समन्वय बैठक आह्वान गरेको थियो । अहिले तीन पालिकाबीच राप्ती सोनारीले ग¥यो । यो कदम निकै स्वागतयोग्य छ । बैजनाथ र राप्ती सोनारीका असल अभ्यास सुन्यौँ । हाम्रो गाउँपालिकाका असल अभ्यासबारे जानकारी दिने अवसर मिल्यो । बाँके जिल्लामा पहिलोपटक यो निकै प्रंशसनीय कार्यक्रमको थालनी भएको छ । यस्ता बैठकहरूले अन्तरपालिका विकासमा निकै ठूलो महत्व राख्ने विश्वास लिएका छौँ ।

प्रकाशबहादुर शाही, अध्यक्ष, बैजनाथ गा.पा.

बैजनाथ गाउँपालिकाले पनि असल अभ्यास सुरु गरेको छ । हामी निर्वाचित भएर आएदेखि नवीनतम कार्यसमेत भएका छन् । यो एकअर्काबीच सिकाइ आदानप्रदान हुने सुनौलो अवसर हो । हामीले खजुरा र राप्ती सोनारीका असल अभ्यास टिपेर लिएका छौँ । आगामी दिनमा हाम्रो पालिकामा लागु गर्नेछौँ । अहिले तीन पालिकाबीच बैठक बस्यो । आगामी दिनमा जिल्लास्तरमा समन्वयात्मक बैठक आह्वान गर्नुपर्छ । त्यसको लागि बैजनाथ पहलकदमी लिन तयार छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार