नेपालगन्ज : जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगन्जले नयाँ शैक्षिक सत्र २०८२ का लागि आवश्यक पाठ्यपुस्तक बिक्री वितरण कार्य सञ्चालन गरिरहेको छ । नयाँ शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्म ११ लाखभन्दा बढी थान पाठ्यपुस्तक बिक्री गरेको कार्यालयले जनाएको छ ।
नयाँ शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्ममा कार्यालयले १५ करोड १९ लाख ८७ हजार ७५५ रुपियाँ बराबरका उक्त पाठ्यपुस्तक बिक्री गरेको जनाएको छ ।
प्रादेशिक प्रेस नेपालगन्जका प्रमुख होमराज ढुङ्गेलले यस वर्षको शैक्षिक सत्रका लागि वैशाख ८ गतेसम्म नेपालगन्ज कार्यालयबाट ११ लाख २५ हजार ८६८ थान पाठ्यपुस्तक बिक्री वितरण गरिएको बताए । उनका अनुसार १५ करोड १९ लाख ८७ हजार ७५५ रुपैयाँ बराबरको उक्त पाठ्यपुस्तक बिक्री वितरण गरिएको हो ।
प्रमुख ढुङ्गेलका अनुसार कर्णालीको हुम्लामा तीन वटा विक्रेतामार्फत ५३ हजार ६० थान, डोल्पामा सात वटा विक्रेतामार्फत ३७ हजार ५९४ थान, रुकुमपश्चिममा १७ वटा विक्रेतामार्फत एक लाख ३१ हजार १७७ थान, जाजरकोटमा छ वटा विक्रेतामार्फत ५३ हजार ७७१ थान र सल्यानमा १४ वटा विक्रेतामार्फत एक लाख १६ हजार ५१७ थान पाठ्यपुस्तक बिक्री गरिएको छ ।
त्यसैगरी लुम्बिनीको रुकुमपूर्वमा दुई वटा विक्रेतामार्फत ३७ हजार ९९१ थान, रोल्पामा १० वटा विक्रेतामार्फत एक लाख ६० हजार ६६५ थान, दाङमा चार वटा विक्रेतामार्फत एक लाख ९० हजार ६६९ थान, बर्दियामा २७ वटा विक्रेतामार्फत एक लाख ८९ हजार ५७५ थान र बाँकेमा १४ वटा विक्रेतामार्फत एक लाख ५४ हजार ८४९ थान गरी जम्मा ११ लाख २५ हजार ८६८ थान पाठ्पुस्तक बिक्री भएको प्रमुख ढुङ्गेलले बताए ।
गत वर्षसम्म जनक शिक्षाले कक्षा ५ देखि १२ कक्षा सम्मका पाठ्यपुस्तक वितरण गर्दै आएको थियो । तर, यस वर्षबाट कक्षा ३ को समेत पाठ्यपुस्तक जनक शिक्षाले नै छपाइ गर्ने र वितरण गरिने भनिएता पनि निजी छापाखानाले समेत ३ कक्षाको पुस्तक छपाइ गर्दा कम बिक्री भएको तथा बिक्री वितरण कार्यमा केही दबाब सृजना भएको उनले जानकारी दिए । यस वर्ष कार्यालयबाट फागुनको पहिलो हप्तादेखि पाठ्यपुस्तक बिक्री वितरण थालिएको उनले बताए ।
नेपालगन्ज कार्यालयमार्फत कर्णालीका हुम्ला, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र सल्यान गरी पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँके गरी पाँच जिल्लासहित १० वटा जिल्लामा पाठ्यपुस्तक वितरण हुने गरेको छ ।
गत वर्ष नेपालगन्ज कार्यालयबाट १० जिल्लामा १९ करोड ६० लाख ५० हजार ६२६ रुपियाँ बराबरका १४ लाख ४६ हजार १६ थान पाठ्यपुस्तक वितरण गरिएको र यो वर्ष करिब १८ लाख थान पाठ्यपुस्तक वितरण गरिने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार शिक्षक आन्दोलनका कारण स्थानीय तहबाट विक्रेतालाई रकम पठाउने कार्य ढिलाइका कारण सोचे अनुरुप पाठ्यपुस्तक वितरण भएको छ्रैन् ।
जनक शिक्षा सामग्री केन्द्रले विराटनगर, पोखरा, भरतपुर, जनकपुर, बुटवल, सुर्खेत, नेपालगन्ज, धनगढी र काठमाडौँ गरी ९ स्थानमा रहेका आफ्नो बिक्री केन्द्रबाट पाठ्यपुस्तकहरु बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्