काठमाडौँ ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ । दशरथ रंगशालामा बुधबार भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि भिडन्तमा घरेलु टोली नेपालले फिफा वरीयतामा आफूभन्दा ४८ स्थानमाथिको म्यानमारसँग २–० गोलको हार बेहोर्दा अर्को फाइनलमा पनि उपविजेतामा चित्त बुझाउनु परेको हो ।
बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो । खेलको ६२ मिनेटमा म्यानमारले अग्रता लिएको थियो । उसका लागि नो पो खिनले गोल गर्दै दशरथ रंगशालामा उपस्थित १५ हजार ५ सय बढी घरेलु दर्शकलाई स्तब्ध पारिन् । उनले डिबक्स नजिकबाट बल कुदाएर दोस्रो बार च्याप्दै बललाई जाली चुमाउँदा नेपाल दर्शक शान्त हुन बाध्य भए ।
दुई खेल मिनेटपछि म्यानमारले अग्रता दोब्बर पा¥यो । म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो । नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् ।
त्यसअघि खेलको १०औँ मिनेटमा एन्जिलाले यन वादीको प्रहार विफल पारिन् । २४ मिनेटमा नेपालकी डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै नेपालको संकट टारिन् । त्यसअघि म्यानमारकी सान्थ्वाले डिबक्स भित्रबाट सशक्त प्रहार गरेकी थिइन् । खेलको ३५ मिनेटमा नेपालले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । रेखा पौडेलको पासमा सावित्रा भण्डारीले हानेको प्रहार म्यानमारको गोलकिपरले फर्काइन् । रिबाउन्डमा रेखा पौडेल पनि सफल हुन सकिनन् । फेरि सो बल डिबक्समा क्लियर हुन नसके पनि नेपाल फिनिसिङमा चुक्यो ।
४४ मिनेटमा बिमला बिकको फ्रिकिक म्यानमारकी खेलाडीले पोल नजिकबाट क्लियर गरिन् । दोस्रो हाफको सुरूआतमा नेपालले म्यानमारलाई दबाब दियो । ५४ मिनेटमा विमला विकको क्रममा डिबक्स भित्रबाट साम्बाले गरेको हेडर दोस्रो पोल नजिकबाट बाहिरिँदा नेपालले फेरि अर्को अवसर गुमायो । तर ६२ र ६४ मिनेटमा गोल खाएपछि नेपालमाथि दबाब परेको थियो । जसका कारण म्यानमारले खेल नियन्त्रण लिन सफल भयो । खेलको इन्जुरी समयमा नेपालकी नेपालकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रिकिक हाने पनि म्यानमारकी गोलकिपरले विफल पारिन् ।
यससँगै नेपालले औपचारिक र अनौपचारिक प्रतियोगिता गरी १३ वटा फाइनलमा हार बेहोर्ने नमिठो यथार्थ आत्मसात गर्नप¥यो । नेपालले सन् २०१० यता छ वटा महिला साफ च्याम्पियनसिप, तीन वटा साग गेम्स, एक वाफ विमेन्स च्याम्पियनसिप र अन्य तीन वटा अनौपचारिक प्रतियोगिताको फाइनलमा स्थान बनाए पनि उपाधि भने जित्न सकेको छैन ।
लिग चरणमा नेपालले फिफा वरीयतामा ४८ स्थान माथिको म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको थियो । सो खेलमा साम्बाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए । नेपालले यो प्रतियोगिता महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको थियो । आगामी जुनमा नेपालले छनोट खेल्दैछ । छनोटको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ ।









प्रतिक्रिया दिनुहोस्