वीरेन्द्रनगर ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जाल नियमन गर्न सरकारले ल्याएको विधेयकका बारेमा गलत प्रचार गरिएको बताएका छन् ।
यसबारे बाहिर गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै नागरिकलाई अधिकारप्रति सचेत गराउन नियन्त्रण नभई नियमन भएको उनले दाबी गरे । सुर्खेतमा शनिबार सम्पन्न प्रेस चौतारी नेपाल कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘संविधानले नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूति गरेको छ । एक स्वाभिमान नागरिकले सो अधिकारको प्रयोग कसरी गरिरहेको छ भनेर राज्यले हेर्न खोज्नुलाई नियन्त्रणको भाष्य बनाएर अफवाह फैलाउन खोजिएको छ ।’
पछिल्लो समय सामाजिक सञ्जालले नागरिकलाई आत्मसम्मानपूर्वक बाँच्न नदिएको उल्लेख गर्दै यसको नियमन आवश्यक रहेको गौतमको तर्क छ । ‘सामाजिक र सांस्कृतिक रूपमा मिलेर बसेको नेपाली समाजलाई भाँड्न खोज्ने एकाध व्यक्तिलाई के लेख्ने ? के भन्ने ? विषयमा सबक सिकाउन आवश्यक छ’ उनले थपे, ‘तथ्य प्रस्तुत गर्ने मिडियाहरू नै पछिल्लो समय स्वार्थ समूहतर्फ डाइभर्ट हुँदै गएका छन् । जवाफदेहितासहित आएको विधेयकलाई गहिरो अध्ययन गरेर मात्रै विचार प्रस्तुत गर्नुपर्छ ।’
अधिवेशनलाई सम्बोधन गदै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले सञ्चालन गरेका ८० प्रतिशत योजना कार्यान्वयनको चरणमा रहेको बताए । बजेट वितरण, योजना छनोट र पारदर्शितासम्बन्धी जनगुनासोहरूप्रति ध्यानाकर्षण भएको भन्दै पारदर्शी ढंगले योजनाहरू समयमा नै सम्पन्न गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस स्वतन्त्रताको आवश्यक रहेको भन्दै प्रेस चौतारी समाचार लेख्ने पत्रकारहरूको संस्था भएको दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्