कोहलपुर: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) बाँकेले ‘अन्डर टुवेल फुटबल कप–२०८१’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेशनल प्याब्सन बाँकेको आयोजनामा पहिलोपटक फागुन ५ देखि ८ गतेसम्म ‘अन्डर टुवेल फुटबल कप’ सञ्चालन हुन गइरहेको हो ।
नेशनल प्याब्सन बाँकेले आइतबार पत्रकार कोहलपुरमा सम्मेलन गर्दै ‘अन्डर टुवेल फुटबल कप’ कोहलपुरको तेह्र बिगाह खेलमैदानमा सञ्चालन हुने जानकारी दिएको हो । नेशनल प्याब्सन बाँकेका अध्यक्ष किशोरराज मल्लले निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई स्वस्थ र मस्त राख्न प्रतियोगितामार्फत टेवा पुग्ने बताए ।
खेलकुदको माध्यमबाट विद्यार्थीहरूलाई थप अनुशासित र लगनशील बनाउन मद्दत पुग्ने विश्वास लिएको अध्यक्ष मल्लले जानकारी दिए । प्रतियोगितामा नेशनल प्याब्सन बाँकेमा आबद्ध ८० विद्यालयहरूले सहभागिता जनाउने उनले बताए ।
खेलकुदको माध्यमबाटै विद्यार्थीहरूले आफ्नो अन्तर्निहित क्षमता प्रस्फुटन गर्न पाउने राम्रो प्लेटफर्म बन्ने उनले बताए । विगतका दिनहरू विभिन्न रनिङ शिल्ड खेलकुद प्रतियोगिताहरू सञ्चालन भए पनि फुटबल प्रतियोगिता छुट्ने गरेकाले छुट्टै फुटबल कपको आयोजना गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।
‘अन्डर टुवेल फुटबल कप’को संघीय खेलकुदमन्त्री तेजुलाल चौधरीबाट उद्घाटन हुने नेशनल प्याब्सन बाँकेका सचिव बेगप्रसाद चन्दले जानकारी दिए । उनका अनुसार त्यस दिन सम्पूर्ण विद्यालयहरूमा बिदा रहने बताए । प्रतियोगितालाई भव्य र सभ्य बनाउन विभिन्न उपसमितिहरू गठन गरिएको उनले जानकारी दिए ।
प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको उनले बताए । प्रतियोगितामा करिब १२ सय विद्यार्थी खेलाडीहरू सहभागी हुने उनले जानकारी दिए । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई नगद २५ हजार र ट्रफी, द्धितीयलाई १५ हजार र तृतीय हुने विद्यालयलाई १० हजार नगर पुरस्कारको व्यवस्था गरिएको उनले बताए । कोहलपुरको साझा चोकबाट पञ्चेबाजा, मयूर नाच लगायतका झाँकी सहितको ¥याली सुरु भई पिपल चौतारा, न्यूरोड हुँदै तेह्र बिगाह खेलमैदानमा पुग्ने उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्