रारा तालमा सुरक्षाका लागि पर्यटक प्रहरी राखिने



मुगु:मुगुुको रारा तालमा अब सुरक्षाका लागि पर्यटक प्रहरी राखिने भएको छ । रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी राख्ने सम्झौता भएको हो ।
नेपाल सरकारले देशकै सबैभन्दा ठूलो र गहिरो ताल रारा घुम्न आउने पर्यटकको सुरक्षाका लागि पर्यटक प्रहरी राख्ने व्यवस्था गरेको हो । जसका लागि शुक्रबार पर्यटन विभाग र छायानाथ रारा नगरपालिकाबीच पर्यटक प्रहरी राख्ने सम्झौता भएको छ ।

पर्यटन विभागका निर्देशक लीलाधर अवस्थी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपति शाहीबीच सम्झौतामा हस्ताक्षर भएसँगै रारामा अब पर्यटक प्रहरी राख्ने बाटो खुलेको हो । रारामा पर्यटक प्रहरी रहने निश्चित भएपछि अब सुुरक्षा व्यवस्था पनि कडा हुुने बताइएको छ ।
सम्झौतामा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले पर्यटक प्रहरीको जनशक्ति, दरबन्दी र प्रहरी पोष्टको व्यवस्थापन गर्ने तथा नगरपालिकासँग सहकार्य र समन्वय गरी पर्यटकलाई कामकाजमा खटाउने उल्लेख छ ।

छायानाथ राराले रारामा पर्यटक प्रहरीलाई बस्नका लागि घर, खानेपानी, बिजुलीलगायत आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने र पर्यटक प्रहरीका लागि उचित वातावरण निर्माण गर्नुपर्ने जनाइएको छ । मुगुमा रारामा ताल मात्र नभएर यो क्षेत्रमा धार्मिक स्थल, हिमाल, गुफा रहेका छन् । जंगलका बीचमा रहेका यी स्थानमा यहाँ आएका पर्यटक एग्लै घुम्न डराउने गर्छन् ।

अब पर्यटक प्रहरी राखिए सुरक्षित महसुस गरी पर्यटक स्वतन्त्र रूपमा यी पर्यटकीय स्थलको पनि भ्रमण गर्नेछन् भने पर्यटकको रारा बसाइ पनि लम्बिने अपेक्षा छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीका अनुसार पर्यटकको बसाइ लम्बिनेबित्तिकै स्थानीय जनताको पनि आथिक स्थितिमा सुधार आउनेछ ।

पर्यटक प्रहरीलाई राख्ने स्थानको छनोट, भवन निर्माण, खानेपानी, बिजुली र अन्य आवश्यक पूर्वाधारको व्यवस्थापन गरेर छिट्टै रारामा पर्यटक प्रहरी राख्न आफूहरू लागिरहेको नगर प्रमुख विष्णुकुमार भामले बताए । रारामा पर्यटकीय प्रहरी व्यवस्थापनसँगै आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीमा पनि सुरक्षाको अनुुभूति बढ्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार