हिउँदे वर्षा नहुँदा समस्यामा किसान



जुम्ला :जिल्लामा यस वर्षको हिउँद याममा वर्षा र हिउँ नपर्दा बाली सुक्दै गएपछि यहाँका किसान समस्यामा परेका छन् । हिउँदे बाली सुक्न थालेको तिला गाउँपालिका–१ का स्थानीयबासी जय बुढाले जानकारी दिए ।

गाउँमा सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा कृषकले खेतीपाती गर्दै आएका छन् । लामो समयदेखि वर्षा नहुँदा किसानले लगाएका हिउँदे बाली सुक्न थालेको छ । यस याममा विशेषगरी स्याउका नयाँ विरुवा लगाउने समय होे । माघको अन्तिम साता भइसक्दा पनि वर्षा र हिउँ नपर्दा यहाँका किसानलाई सास्ती उनको भनाइ छ ।

जिल्लामा हिउँदे बालीको रूपमा गहुँ, जौ र विभिन्न तरकारी लगाइन्छ । हाल यी बाली वर्षा र हिउँ नपर्दा बारीमै सुक्न थालेपछि जिल्लाका कृषक चिन्तित बनेकाछन् । विगतका वर्षहरूमा समय समयमा पानी तथा हिउँ पर्ने गरेको थियो । यो वर्षको समयमै वर्षा नहुँदा उब्जनीमा ह्रास आउने यहाँका किसानको भनाइ छ ।
विगतका वर्षहरूमा हरेक हिउँदमा हिउँ पर्ने गरेको थियो र उब्जनी धेरै हुन्थ्यो । तर पछिल्ला वर्षहरूमा हिउँ सारै कम परिरहेकाले उब्जनीमा समेत कमी भएको छ । सिँचाइको सुविधा नहुँदा हिउँदे बालीमा असर भइरहेको तिला गाउँपालिका–१ का वडाध्यक्ष जंगबहादुर बस्नेतले बताए ।

जिल्ला भर कुल २ लाख ५३ हजार १ सय हेक्टर क्षेत्रफल जमिन रहेको छ । यसमा ३८ हजार ४ सय ८६ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ भने २६ हजार ४ सय ३५ हेक्टर क्षेत्रफलको जमिनमा खेती गरिएको छ । सिँचाइ गर्ने योग्य जमिन ३ हजार ६ सय ५० रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाइ जुम्लाका प्रमुख खेमराज शाहीले जानकारी दिए ।

जिल्लाको कुल क्षेत्रफलमध्ये १५ दशमलव २१ प्रतिशत खेतीयोग्य जमिन रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले जनाएको छ ।
खेतीयोग्य जमिनमध्ये हालसम्म ८ हजार ४ सय ४२ हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेको छ भने बाँकी खेतीयोग्य जमिनमा क्रमशः सिँचाइका योजना निर्माण कार्य भइरहेको प्रमुख शाहले बताए । यसपालि हिउँदमा वर्षा नहुँदा देशभर कृषि क्षेत्रमा सबैभन्दा ठूलो असर पर्ने देखिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २८ गते सोमबार