वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन नयाँ मापदण्ड बनाइँदै



मिसन संवाददाता, वीरेन्द्रनगर,कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर निर्माणका लागि नयाँ मापदण्ड निर्माण गर्न लागिएको छ । वीरेन्द्रनगरलाई थप व्यवस्थित सहर बनाउन सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८१ लागू गर्ने तयारी छ । जसअनुसार नगरक्षेत्रभित्र भवन संरचना निर्माण गर्दा खोला, नदी, कुलो, ताल किनार आदि क्षेत्रमा मापदण्डमा तोकिए बमोजिम मात्रै निर्माण गर्न पाइने छ । सार्वजनिक पानीको मुहानलाई असर पर्ने गरी नगरपालिकाले कुनै पनि निर्माणको अनुमति दिने छैन ।

नगर क्षेत्रभित्र परम्परागत पानीको मुहान, निकास, प्राकृतिक ताल, धाप, नदी, पोखरी, धारा, कुवा, कुण्ड, ढुङ्गेधारा, जरुवा, इनार आदि मास्ने वा प्रतिकूल असर पर्ने गरी कुनै पनि संरचना निर्माण गर्न नदिने व्यवस्था मापदण्डमा गरिएको छ ।

यस्तै नगर क्षेत्रभित्र रहेका खोला, खोल्सी र राजकुलो वा अन्य कुलोको किनारबाट निर्माण गरिने संरचनाको हकमा नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ ६ मिटरको दूरी छोड्नुपर्नेछ । वीरेन्द्रनगर उपत्यकामा रहेका खोला तथा नहर क्षेत्रनजिक संरचना निर्माण गर्दा खोला किनारबाट ६ मिटरको सेटब्याक छोड्नु पर्नेगरी मापदण्ड तय गरिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।

उनका अनुसार सुर्खेतको प्रमुख पर्यटकीय संरक्षित क्षेत्रका रूपमा रहेको बुलबुले तालको सिमानाबाट न्यूनतम २० मिटरभित्र भौतिक संरचना निर्माण गर्न पाइने छैन । भने बुलबुले तालको साढे एक किलोमिटरको अर्धव्यासमा कुनै पनि ग्यारेज स्थापना गर्न पाइने छैन । उक्त स्थानभित्र यो मापदण्ड लागू हुनुपूर्व निर्माण भएका साविकका ग्यारेजहरू अनिवार्य हटाउने तयारी छ ।

नगरपालिकाले शहरीकरण र भू–उपयोगको तीव्र परिवर्तनलाई व्यवस्थापन गर्दै सुरक्षित बसोबासको सुनिश्चितता गर्न मापदण्ड तयार पारेको हो । नगर क्षेत्रमा निर्माण हुने भूकम्प प्रतिरोधात्मक नयाँ भौतिक संरचना, प्रविधियुक्त र भरपर्दो तथा व्यवस्थित सडक निर्माण कार्यलाई योजनाबद्ध रूपमा अघि बढाई नगरलाई सुरक्षित, स्वच्छ र आकर्षक बनाउन मापदण्ड तयार पारिएको ढकालको भनाइ छ ।

व्यवस्थित र सुन्दर नगरपालिका निर्माण गर्न दीर्घकालीन सोचसहितको शहरी योजना तथा भवन निर्माण मापदण्ड तयार पारिएको ढकाल बताउँछिन् । स्थानीय सरकारको शहरी योजना तथा भवन निर्माणसम्बन्धी कामकाजलाई पारदर्शी, जवाफदेही, जनउत्तरदायी र मापदण्डमा आधारित रहेर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा १ र २ बमोजिम मापदण्डको मस्यौदा तयार पारिएको ढकालको भनाइ छ । ढकालका अनुसार मस्यौदाउपर जनस्तर र सरोकारवाला निकायसँग व्यापक छलफल गरेर आगामी नगरसभाबाट मापदण्ड स्वीकृत गरिनेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २२ गते मंगलबार