अछाम : अछामका पाँच जनालाई नेकपा एमाले सुदूरपश्चिमले पार्टीबाट निष्कासन गरेको छ । प्रदेश कमिटी सदस्य र प्रदेश सल्लाहकार परिषद् सदस्य रहेका पाँच जनालाई निष्कासन गरिएको हो ।सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवर तथा प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, दुधकला विष्ट र केशर मियाँलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले जानकारी दिए ।
प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको देखिएकाले पाँच जनालाई निष्कासन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै खड्कालाई स्पष्टीकरण सोधिएकोमा चित्त बुझ्दो जवाफ पनि दिएका थिए ।
‘एकपटकका लागि कारबाही नगर्ने भनिएकामा फेरि सोही गतिविधिमा संलग्न रहेको देखिएपछि निष्कासन गर्ने निर्णय भएको हो,’ सचिव चन्दले भने, ‘प्रदेश कमिटी सदस्य विकलाई स्पष्टीकरण सोधिएकोमा जवाफ दिएका थिएनन् ।
पूर्वउपाध्यक्ष भीम रावलको मातृभूमि जागरण अभियानमा लागेपछि कारबाही गरिएको हो । सोही अभियानमा लागेका बिष्ट, मियाँ र कुँवरलाई पनि प्रदेश कमिटीको पाँचौँ सचिवालय बैठकले पार्टी विधानको धारा ८१ को उपधारा (१) बमोजिम पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।’









प्रतिक्रिया दिनुहोस्