सिद्धार्थनगरका कर्मचारीले जिते क्रिकेट उपाधि



बुटवल, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ५७औँ स्थापना दिवसको पूर्वसन्ध्यामा आइतबार भैरहवास्थित पक्लिहवा माविको खेल मैदानमा आयोजना गरको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि सिद्धार्थनगर नगरपालिकाका कर्मचारीको टिमले हात पारेको छ । फाइनलमा नगरपालिकाका जनप्रतिनिधिको टिमलाई १० विकेटले पराजित गर्दै कर्मचारीको टिमले उपाधि जित्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको जनप्रतिनिधिको टिमले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ७८ रन बनाएको थियो ।

जबाफी ब्याटिङ गरेको कर्मचारीको टिमले ५ ओभर ४ बलमा बिनाक्षति लक्ष्य पूरा गर्दै उपाधि चुम्यो । खेलमा ३ विकेट लिएका कर्मचारी टिमका जनक थापा प्लेयर अफ द फाइनल घोषित भए । यसअघि जनप्रतिनिधि र कर्मचारीको टिमले लुम्बिनी प्रेस क्लबलाई पराजित गर्दै सेमिफाइनल र फाइनल पुगेका थिए ।
पहिला ब्याटिङ गरेको प्रेस क्लबले १० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनाएको थियो । कर्मचारीको टिमले बिनाक्षति ५ ओभर १ बलमा लक्ष्य पूरा गरी १० विकेटले जित निकालेको थियो । त्यसअघि जनप्रतिनिधिको टिमले प्रेस क्लबको टिमलाई २६ रनले पराजित गरेको थियो । नगरपालिकाले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिरहेको छ ।

स्थापना दिवसको प्रमाणस्वरूप अदालतमा प्रकाशित राजपत्र फेला परेपछि सोही राजपत्रको आधारमा कार्यालयले माघ २२ गते स्थापना दिवस मनाउन लागेको सिद्धार्थनगर नगरपलिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए । दिवसका अवसरमा कार्यालयले विभिन्न संघ–संस्था, नगरबासीहरूको सहभागितामा नगरमा प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम गर्नेछ । नगरपालिकाले प्रभातफेरीमा विद्यार्थीलाई भने सहभागी नगराउने जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार