कैलाली : कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा निर्माण भएको ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनका लागि समिति गठन गरिएको छ । एक्लिँदै गएको ज्येष्ठ नागरिकको जीवनलाई सार्थक बनाउने उद्देश्यले केही वर्षअघि भवन निर्माण भए पनि सञ्चालन भने हुन सकेको थिएन ।
मिलन केन्द्र सञ्चालनका लागी स्थानीय पदमराज रिमालको अध्यक्षतामा समिति गठन गरिएको छ । सो समितिले विधान निर्माण गर्ने तथा समितिलाई वैधानिकता प्रदान गर्ने काम गर्नेछ । मिलन केन्द्र बिहान १० बजेदेखी साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । उमेरका कारण अन्य काम गर्न नसक्ने अवस्थामा समय बिताउन तथा आफ्नो उमेर समूहका दौँतरी साथिसँग भेट्न पाउने भएकाले मिलन केन्द्रले ज्येष्ठ नागरिकको एक्लोपन हटाउन मद्दत पुग्ने बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।
‘अघिल्लो पटक झपट रावल जी सांसद हुँदा स्थानीय तहसँगको समन्वयमा संघीय सरकारले बजेट विनियोजन गरी भवन निर्माण गरेको थियो । हामी निर्वाचित भई आएपछि यसको प्लास्टर, सेफ्टी ट्यांकी, रङरोगन, टायल मार्वल, प्लम्बिङ, रेलिङ लगायतका कामहरु सम्पन्न ग¥यौँ ।’ अध्यक्ष कुँवरे भने ।
ज्येष्ठ नागरिकहरू मिलन केन्द्रमा भजन कीर्तन, प्रवचन, टेलिभिजन, सामान्य खेलसँगै जनै, दुना टपरी, डोरी, बाती निर्माण लगायतका काममा पनि संलग्न गराउने गरी योजना निर्माण भइरहेको वडा नम्बर १ का अध्यक्ष एवम् गाउँ सरकारका प्रवक्ता मिथुन गौतमको भनाइ छ ।
‘सबैलाई अनिवार्य भन्ने होइन कसैले काम गर्न चाहेमा उनीहरूले सक्ने जस्तैः जनै बनाउने, दुना टपरी गाँस्ने, बाती काट्ने काममा लगाउने र ती सामानहरूलाई हामीले नै बजारीकरण गरिदिने योजनामा छौँ । यसले गर्दा उनीहरूको आर्थिक उपार्जनको पाटो पनि बलियो हुन्छ ।’ उनले भने । उनका अनुसार मिलन केन्द्रको भवनमा ७ कोठा र एक हल सहित करिब ७० बढी ज्येष्ठ नागरिकहरू अट्ने क्षमताको रहेको छ । मिलन केन्द्रमा अबको केही दिनमा ज्येष्ठ नागरिकहरूको चहलपहल सुरु हुनेछ ।









प्रतिक्रिया दिनुहोस्