कुशल मल्लले बुटवलबाट अर्जुन ट्रफी खेल्ने



कैलाली :नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुटवलबाट खेल्ने भएका छन् । हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपीएल)मा चितवन राइनोजका मार्की खेलाडीसमेत रहेका मल्लले क्रिकेटको सहर धनगढीमा माघ १९ गतेदेखि २८ गते (फेब्रुअरी १ देखि

१०)सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलबाट प्रतियोगिता खेल्ने भएका हुन् ।
कुशल मल्लको कप्तानीमा रहेको बुटवलको टिममा दिलीप नाथ, सिद्धान्तराज लोहनी, निर्मल गुरुङ, प्रतीक श्रेष्ठ र तुलबहादुर थापा रहेका छन् ।
यस्तै, टिममा महेश भार, विप्रसन केसी, आरिफ खान, दीपक डुम्रे, वीरबहादुर घर्ती र गोविन्द विक रहेका छन् । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ २२ गते हुने खेलमा बुटवलले दशरथ चन्द एकेडेमी बैतडीसँग खेल्नेछ ।

यस्तै, माघ २३ गते क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँसँग खेल्नेछ भने २५ गते सीवाईसी अत्तरियासँग लिग चरणको अन्तिम खेल खेल्नेछ ।
प्रतियोगिताको खेललाई प्रत्यक्ष रूपमा मैदानमा गएर हेर्नका लागि खल्ती एपबाट टिकट काट्न सकिने सुविधा दिइएको आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू हेर्नका लागि खल्ती एपमा अर्जुन ट्रफीको टिकट काट्ने सुविधा सुरु भइसकेको छ । डिजिटल वालेट खल्तीबाट टिकट काटेर खेल हेर्ने दर्शकहरुलाई टिकटबराबरको आकर्षक उपहार पनि दिइने भएको छ ।

गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको प्रतियोगिताका लागि भीआईपीतर्फ २ सय र साधारणतर्फ एक सय रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोट्र्स एचडी वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिनेछ । युट्युब फेसबुकलगायतका सामाजिक सञ्जालहरूमा एडिआर स्पोर्टस्ले प्रत्यक्ष प्रसारण गर्नेछ ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झन्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रूपमा टी–२० फम्र्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद २ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टिमहरूको सहभागिता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेशस्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार