कोहलपुरमा आठौं मेयरकप रनिङशिल्ड सुरु



कोहलपुर (बाँके) : आठौं मेयरकप तथा सत्रौं राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता–२०८१ सुरु भएको छ । कोहलपुर नगरपालिकाको आयोजनामा ‘आठौं अन्तर आवि÷मावि मेयर कप रनिङ शिल्ड तथा १७ औ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद् छनौट प्रतियोगिता–२०८१ सुरु भएको हो । प्रतियोगिताको बुधबार एक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले दीप प्रज्वलन गरेर उद्घाटन गरेका हुन् ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नगरप्रमुख आचार्यले मेयर कप कोहलपुर नगरपालिकाको आधाकारिक प्रतियोगिता भएको बताए । स्थानीय सरकारले सञ्चालन गर्ने नियमित प्रतियोगिताको रुपमा रहेको मेयर विद्यार्थीहरुको प्रतिभा पहिचान गर्ने एक शसक्त माध्मम भएको पनि बताए ।
‘बाँके जिल्लामा कोहलपुर खेलकुदमा निकै अघि छ । कोहलपुर गत वर्षको जिल्ला च्याम्पियन हो । हामीले खेलकुदमा लगानी गरिरहेका छौँ । त्यसको प्रतिफल विस्तारै देखिदै गएको छ । हाम्रा खेलाडी देशभर चिनिएका छन्,’ उनले भने । यसपटकको मेयर गत वर्षहरुको भन्दा फरक रहेको उनको भनाइ थियो ।
यसपटकको मेयर कपमा आधारभूत विद्यालयलाई सहभागी गराइएको उनले बताए । यसपटकको प्रतियोगितामा माध्यमिक र आधारभूत तह गरी प्रतिष्पर्धा हुनेछ । यस्तै मेयर कपमा माध्यमिक र आधारभूततर्फको पुरस्कार राशी समेत बढाइएको छ । प्रतियोगिताकै उत्कृष्ट विद्यार्थीलाई नगद् ५१ हजार पुरस्कार खेलाडीको प्रेरणाका रुपमा रहेको उनले बताएका थिए ।
नगर प्रमुख आचार्यले भने,‘यो पटकबाट आधारभुत विद्यालय सहभागी भएका छन् ।पुरस्कार राशी बढाइएको छ । नयाँ विधाका रूपमा चेस थपिएको छ । यो प्रतियोगिताको खेलाडीको बहुआयामिक विकास र सिकाई उपलब्धिसँग पनि जोडिएको छ ।’
नगर खेलकुद विकास समितिका संयोजक चक्रबहादुर चिमला क्षेत्रीले राष्ट्रपति मेयर कप तथा रनिङशिल्ड कोहलपुरको गौरवमय प्रतियोगिता भएको बताए ।कोहलपुरका खेलाडीहरु स्थानीय,जिल्ला,प्रदेश र राष्ट्रियस्तरमा पुगेको भन्दै कोहलपुर खेलाडीको सहरको रुपमा विकास भइरहेको उनको भनाइ थियो ।
आठौं अन्तर आवि÷मावि मेयर कप रनिङ शिल्ड तथा १७ औ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद् छनौट प्रतियोगिता कूल ५३ विद्यालय सहभागी छन् ।

प्रतियोगितामा एथलेटिक्स,भलिबल कबड्डी र मार्सल आर्टसगरी चार विधामा खेल सञ्चालन हुनेछन् । चेससमेत अतिरिक्त विधाको रुपमा रहेको छ । प्रतियोगितामा कूल २ हजार १ सय ६७ खेलाडी सहभागीता जनाउँदैछन् । प्रतियोगितामा मावि तर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयले ७५ हजार,द्धितीय हुनेले ६५ हजार र तृतीय स्थान हासिल गर्ने विद्यालयले ५५ हजार रुपैयाँ प्राप्त गर्ने उनले बताए ।
यस्तै आधारभूत विद्यालयतर्फ प्रथम स्थान हासिल गर्ने विद्यालयले २५ हजार,द्धितीय हुनेले २९ हजार र तृतीय स्थान हासिल गर्ने विद्यालयले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष क्षेत्रीले बताए । प्रतियोगितामा एकजना उत्कृष्ट खेलाडीले नगद् ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । नगर खेलकूद विकास समितिको सञ्चालन तथा व्यवस्थापनमा कोहलपुर–१ स्थित कृष्ण माविको खेल मैदानमा भइरहेको प्रतियोगिता माघ १९ गतेसम्म सञ्चालन हुनेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार