जिसस कैलालीमा कांग्रेसकी टीका निर्विरोध



कैलाली ।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । समन्वय प्रमुखमा उम्मेदवारी दर्ता गराएकी नागरिक उन्मुक्ति पार्टीकी रूपमति डंगोरा थारूले उम्मेदवारी फिर्ता लिएपछि टीकाकुमारी निर्विरोध निर्वाचित भएकी हुन् ।

आइतबार नेपाली कांग्रेसबाट कैलारी गाउँपालिकाकी वडा सदस्य टीकाकुमारी र नागरिक उन्मुक्ति पार्टीबाट टीकापुर नगरपालिकाकी वडा सदस्य रूपमतिले उम्मेदवारी दर्ता गराएका थिए ।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डंगौरा थारू, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताहरूको उपस्थितिमा रूपमतिले उम्मेदवारी फिर्ता लिएको नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रले जानकारी दिए ।

‘रूपमतिको उम्मेदवारी फिर्तासँगै टीकाकुमारी जिसस प्रमुखमा निर्विरोध निर्वाचित भएकी छन्,’ उनले भने ।

कांग्रेसले दलित र आदिवासीको प्रतिनिधित्व हुने गरी जिसस प्रमुखमा टीकाकुमारीलाई अघि बढाएको उनको भनाइ रहेको छ । नागरिक उन्मुक्तिकी उम्मेदवार डंगौराले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेम भट्टले समेत बताए ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते बिहीबार