मधुर पौडेल । बाँसगढी ।
बाँसगढी प्रिमियर लिग टी– २० क्रिकेट प्रतियोगिता–२०८१ को दोस्रो संस्करण अन्तर्गतको सातौँ दिन मंगलबार समूह चरणका अन्तिम दुई खेल भएका छन् । जसमा बाँसगढी राइनोज र ककौरा सुपर किङ्स विजयी भए । बाँसगढी राइनोज र एचबीएबीच भएको पहिलो खेलमा एचबीएले टस जितेर ब्याटिङ रोजेको थियो । पहिलो ब्याटिङमा उत्रिएको एचबीएले २० ओभरमा १० विकेट गुमाउँदै १२२ रन जोडेको थियो ।
पहिलो इनिङमा एचबीएका आकाश खत्रीले ३१ रन तथा सुनिल भण्डारीले २७ रन जोडे भने बाँसगढी राइनोजको बलिङतर्फ सौजन सुवेदीले ४ तथा गौतम कनोजिया र निशान्त आचार्यले समान २–२ विकेट लिए ।
१२३ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोजले १५.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै ७ विकेटले जित हासिल गरेको थियो । दोस्रो इनिङमा बाँसगढी राइनोजका सिद्धान्त राज शाहीले ५८ तथा केशव विष्टले ४१ रनको अविजित पारी खेले । बलिङ्गतर्फ एचबीएका सोलुप चौधरीले २ विकेट लिए । पहिलो म्याचमा अलराउन्ड प्रर्दशन गरेका सिद्धान्त राज शाहीले माधव एण्ड मनीष म्यान अफ दी म्याच घोषित भए ।
मंगलबार नै भएको ककौरा सुपर किङ्स र बाँसगढी रोयल टाइगर्सको दोस्रो खेलमा ककौराले टस जितेर ब्याटिङ रोजेको थियो । ककौराले २० ओभरमा १० विकेट गुमाउँदै १०८ रन जोड्न सफल भयो ।
जसमा ककौराका सौगात खत्रीले ३७ तथा आदर्श थापाले २२ रनको योगदान दिए । बलिङतर्फ बाँसगढी रोयल टाइगर्सका समिर आचार्यले ३ तथा ट्रभिस जोशी र रोहन खत्रीले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको बाँसगढी रोयल टाइगर्सले १५ ओभरमा आफ्नो सबै विकेट गुमाउँदै ३९ रन मात्र जोड्न सफल भयो । फलतः ककौरा सुपर किङ्स ६९ रनले विजयी भएको थियो ।
ब्याटिङतर्फ बाँसगढी रोयल टाइगर्सका सुशिल अधिकारीले १० रन जोडे भने बाँकी सबै खेलाडीले दोहोरो अंक जोड्न सकेनन्, बलिङतर्फ ककौराका सुदिप रानाले ३ विकेट तथा अजय सहानी र भुवन शाहीले समान २–२ विकेट लिए । दोस्रो म्याचमा उत्कृष्ठ बलिङ गरेका सुदीप रानाले माधव एण्ड मनीष म्यान अफ दि म्याच अवार्ड पाए ।
मंगलबारबाट प्रतियोगिताको लिग चरणका खेलहरू सम्पन्न भएका छन् । ककौरा सुपर किङ्स अंक तालिकामा ६ खेलमा ४ जितसहित ८ अंक जोड्दै शिर्ष स्थानमा रहदै फाइनल प्रवेश गरेको छ । बाँसगढी राइनोज र एचबीए ६ खेलमा ३ जितसहित ६ अंक जोडेकोमा नेट रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो हुँदै ईलिमिनेटरमा प्रवेश गरेका छन् । बाँसगढी रोयल टाइगर्स ६ खेलमा २ जितसहित ४ अंक मात्र जोडेकोले अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
इलिमिनेटर खेल बिहीबारका बिहान १० बजे बाँसगढी राइनोज र एचबीएबीच हुने आयोजक बाँसगढी क्रिकेट क्लबका सागर अधिकारीले जानकारी दिए । बडादसैँ, शुभ दीपावली तथा छठ पर्वका अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा सो प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगिताका विजेताले १ लाख ५० रूपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । बाँसगढी प्रिमियर लिग २०८१ को पहिलो संस्करणको खेलमा पशुपति वारियर्स विजेता बनेको थियो ।
प्रतिक्रिया दिनुहोस्