मानव तस्करीका आरोपित पूर्वमन्त्री अधिकारी पक्राउ



बाँके ।

मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन् । आइतबार अदालतबाट अनुमति लिएपछि प्रहरीले उनलाई विराटनगरस्थित घरबाटै पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले कोशी प्रदेशका सांसदसमेत रहेका अधिकारीलाई पक्राउ गरेर आइतबार नै काठमाडौँ पठाएको थियो ।

काठमाडौँ पु¥याएलगत्तै आइतबार प्रहरीले उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँमा पेस गरेको थियो । अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

पक्राउ परेका अधिकारीमाथि पदको दुरुपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पु¥याउन खोजेको आरोप लागेको छ । एमाले कोशीले उनलाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरिसकेको छ भने शनिबारको सचिवालय बैठकले उक्त निर्णय अनुमोदन गरेको थियो ।
अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए ।

तर त्यहाँको अध्यागमनले अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो । डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए ।

जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन् । उनीहरूको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको प्रहरीलाई बताएका छन् ।

डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो । जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीको नै हस्ताक्षर रहेको छ ।

यस्तै कोशी प्रदेशसभा सदस्यसमेत अधिकारीलाई पक्राउ गरेको विषयमा प्रहरीले सभामुख अम्बरबहादुर विष्टलाई जानकारी दिएको छ । आइतबार आफ्नै निवास विराटनगरबाट अधिकारी पक्राउ परेकाबारे प्रहरीले सभामुखलाई जानकारी गराएको हो ।

यसबारे आफूलाई जानकारी आएको सभामुख विष्टले जानकारी दिए । प्रहरीले दिउँसो नै मौखिक जानकारी गराएको थियो । ‘तीन बजेतिर मोरङका एसपीले टेलिफोनमार्फत जानकारी गराउनुभएको थियो,’ सभामुख विष्टले भने, ‘आइतबार प्रदेशमा सार्वजनिक बिदा भएकाले सोमबार औपचारिक पत्र आउँछ भन्नुभएको छ ।’

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार