श्रीमानको सम्झानामा ‘होम कुण्ड भवन’ निर्माण



कोहलपुर ।

स्वर्गीय श्रीमान् प्रेमबहादुर थापामगरको सम्झानामा उनकी श्रीमती नेत्रकुमारी थापामगरले ‘होम कुण्ड भवन’ निर्माण गरेर राम नगर शिव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी छन् । भूपू क्याप्टेनसमेत रहेका स्व.मगरको सम्झानामा निर्माण भएको ‘होम कुण्ड भवन’ शनिबार समितिलाई हस्तान्तरण गरिएको हो ।

स्व.श्रीमान्को सम्झानामा करिब ५ लाखको लगानीमा उक्त ‘होम कुण्ड भवन’ निर्माण गरिएको श्रीमती मगरले जानकारी दिइन् । फजुल खर्च गर्नुभन्दा थोरै भए पनि सबैको साझा थलो मन्दिरको संरचना निर्माणमा इँटा थपेको उनले बताइन् ।

कोहलपुर नगरपालिका–१० रामनगरमा अवस्थित उक्त मन्दिरको विकासका लागि सपरिवारको सहयोगमा भवन निर्माण गरिएको उनको भनाइ छ । छोरा पदमबहादुर थापामगर, बुहारी कृष्ण थापामगर, छोरा सन्दीप थापामगर, बुहारी अनिता थापामगरको सहयोगले निर्माण सम्पन्न गरेर पूजा गरी हस्तान्तरण गरेको उनले बताइन् ।

२०५८ मा स्थापना भएको रामनगर शिव मन्दिरको पछिल्लो समय भौतिक संरचना थपिनेक्रम बढेको संस्थाका अध्यक्ष पदमबहादुर थापाले बताए । खरको झुपडीबाट सुरु भएको मन्दिर अहिले विस्तारै परिवर्तन हुँदै आएको छ । सबैको सहयोगले मन्दिरमा क्रमशः संरचना थप्न सकिएको अध्यक्ष थापाले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार