बाँसगढीमा मापसे गरेर चलाएको अटो दुर्घटनामा एकको मृत्यु



बाँके ।

चालकले मादक पदार्थ सेवन गरि चलाएको अटो अनियन्त्रित भएर दुर्घटना हुँदा बर्दियाको बाँसगढीमा एक जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका– ४ मटेरिया चोक नजिकै अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिहीबार लक्ष्मणादेखि बाँसगढीतर्फ जाँदै गरेको भे१च ४६८ नम्बरको अटो दुर्घटना भएको थियो । इलाका प्रहरी कार्यालय बाँसगढीका अनुसार बाँसगढी नगरपालिका–६ का ५० वर्षीय चिल्ला थारूले मादक पदार्थ सेवन अटो चलाएका थिए ।

दुर्घटनामा बाँसगढी नगरपालिका–८ ककौराका ५९ वर्षीय दिर्घ नारायण पंगेनीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा अटोमा सवार दिर्घ नारायण पंगेनी र स्याङ्जाकी ७० वर्षीय यशोदा पंगेनी गम्भीर घाइते भएका थिए भने अन्य पाँच जना सामान्य घाइते भएका थिए ।

दुई गम्भीर घाइतेलाई थप उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको थियो । उपचारको क्रममा बिहीबार साँझ पंगेनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यशोदाको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते पाँच जना उपचारपछि डिस्चार्ज भइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार