कोहलपुर ।
नेपाल शिक्षक संघका संघीय कार्यसमितिका सदस्य अर्जुन तिवारीले तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । बाँकेको बैजनाथमा नेपाल शिक्षक संघ बाँकेले दीपावली, छठ पर्व २०८१ र नेपाल संवत् ११४५ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले संघीयता अनुसार शिक्षाका संरचना विकास गर्नका लागि तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग गरेका हुन् ।
साथै उनले शिक्षाका अधिकारी संविधानको अनुसूचि– ९ मा समावेश गर्न आवश्यक रहेको बताउँदै शिक्षा ऐन जारी गरी शिक्षक र सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । यसका साथै अपेक्षित सिकाइ उपलब्धि हासिल गर्नका लागि शिक्षक नै सक्रिय हुनुपर्ने बताउँदै आधुनिक प्रविधिको प्रयोग गरी शिक्षण गर्नसक्ने हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका सदस्य बद्रीनाथ सापकोटाले शिक्षण कार्यलाई मर्यादित बनाउन शिक्षकले आफ्नो जिम्मेवारी बुझनुपर्ने बताउँदै शिक्षकहरू आफ्नो पेसाप्रति प्रतिबद्ध हुनु आवश्यक रहेको बताए । नेपाली कांग्रेस बैजनाथका सभापति देवबहादुर केसीले शिक्षा क्षेत्रमा देखिएका समस्याहरू समाधान गरी सक्षम जनशक्ति उत्पादन गर्न आजको आवश्यकता रहेको बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष ऋषि शर्माले शिक्षक संघ बाँकेद्वारा गरिएको गतिविधिहरूको जानकारी दिँदै शिक्षक महासंघ गठन गरिएको, उत्प्रेरणात्मक कार्यक्रम गरिएको, शिक्षकलाई अनलाइन तालिम दिइएको लगायतका कार्यक्रमहरू गरिरहेको र छिट्टै प्रधानाध्यापकलाई प्राविधिक र प्रशासनिक तालिम आयोजना गर्ने बताएका थिए ।
सञ्चयकोष, बिमा, उपदान जस्ता आधारभूत पक्षमा प्रधानाध्यापकहरूमा अन्योलता अन्त्य गर्नका लागि तालिमको आयोजना गर्न लागिएको उनले बताए ।
कार्यक्रममा नेपाल शिक्षक संघ बाँकेको सबै स्थानीय तहका अध्यक्ष तथा पदाधिकारी, शिक्षक संघमा आबद्ध सदस्यहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्