शिवु खनाल । दाङ ।
लमही नगरपालिका–३ मजगाउँ निवासी सुस्मिता चौधरीलाई आफैँले टेकेको जमिनको स्वामित्वले सधैँ पोल्छ । आफैँले टेकेको जमिन आफ्नै छैन । त्यही जग्गाको नाममा राजनीति भने लामो भइसकेको छ । चुनावमा नारा बनिरहन्छ तर, समस्या समाधान भने कहिल्यै हँुदैन ।
बस्तीका स्थानीयहरूले कुनै दलको विचार र सिद्धान्ततसँग सम्बन्ध राख्दैनन् । ‘चासो यत्ति छ कसैले आफूहरूलाई व्यवस्थापन गरिदेओस्,’ सुस्मिता चौधरीले भनिन्, ‘लालपूर्जा पाउने आशामा चुनावी नाराहरू बोकेर दैलो अगाडि पुगेको सबै दललाई विश्वास गरियो । तर, अहिलेसम्म हातमा लालपूर्जा परेको छैन ।’
निर्वाचका बेला चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका लमही नगरपालिका–३ मजगाउँका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी अगुवाहरू अहिले पनि लालपूर्जा पाउने आशामा छन् ।
आइतबार लमही नगरपालिका दिगो गाउँ भूमि अधिकार मञ्चको आयोजनामा लमही नगरपालिका–३ मजगाउँमा भएको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी अगुवाहरूको भूमि शिविर कार्यक्रममा सहभागीहरूले लालपूर्जाको विषयमा नेताहरूको भाषण सुन्दासुन्दा आजित भइसकेको धारणा राखेका थिए ।
राप्ती गाउँपालिका–३ निवासी तुलसी चौधरीले अहिलेसम्म आफू बसेको जग्गाको लालपूर्जा पाएका छैनन् । लालपूर्जा पाउने आशामा उनी राजनीतिक दलको पछि लागे । तर, दलको चुनावी नारा मात्र बनेको सुकुम्बासीको समस्या समाधान नभएको उनले गुनासो पोखे । ‘हामी दुःख परेर यहाँ बस्यौँ । यत्रो बसियो अझै लालपूर्जा पाइएको छैन,’ उनले भने, ‘चुनावको बेला नेताहरू हजुर हजुर भन्दै आउँछन् । तर हाम्रो केही काम लिएर जाँदा पस्नै नहुनेझैँ जस्तो व्यवहार गर्छन् ।’
चौधरीले आफूहरू राजनीतिक दलहरूको चुनावी एजेन्डा मात्र भएको भन्दै आजित भएको सुनाए । उनले लालपूर्जा पाउने आशामा पठाएको जनप्रतिनिधिको कार्यकाल सकिन लाग्यो तर, अहिलेसम्म लालपूर्जा हात नपरेको बताए । ‘हामी गरिबलाई सरकारले यसरी किन थिचोमिचो पारेको छ । हामीलाई लालपूर्जा दिन्छौँ भनेर धेरै पटक झुक्काइयो,’ उनले भने ।
स्थानीय पालिकाहरूले भूमिसम्बन्धी आयोग गठनपश्चात भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत लिने कार्य गरेर र त्यसलाई वडाबाट रुजु र प्रमाणीकरण गरी पालिकाहरूमा पठाएपछि लगत संकलन भरेका भूमिहीनहरूको जग्गा नापजाँच गर्ने कार्य भइरहेको छ ।
लमही नगरपालिकाले ७२३.८३ हेक्टर, राप्ती गाउँपालिकाले ४८१ हेक्टर, गढवा गाउँपालिकाले ७४५ हेक्टर र राजपुर गाउँपालिकाले ४१९ हेक्टर जग्गा नापी गरिसकेको छ । स्थानीय पालिकाको तहबाट हुने कार्य भए पनि आयोग विघटनका कारणले भूमिहीनहरूलाई जग्गा प्राप्तिका लागि सकस भएको युएन ह्याबिट जिल्ला संयोजक बन्दा सिन्हाले बताए ।
यसै कामलाई सहयोग र सहकार्यका लागि युएन ह्याबिट नेपालको सहयोगमा आत्मनिर्भर सेवा केन्द्रले देउखुरीको चार वटा पालिकामा भूमि कृषि कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यस कार्यक्रमले यस क्षेत्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा प्राप्त गराउनका लागि सरोकारवाला पक्षलाई सहयोग गर्ने र उनीहरूको जीविकोपार्जनका लागि कृषिमा टेवा पु¥याउने कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रमअन्तर्गत स्थानीय पालिकाहरूसँग मिलेर प्राप्त भएका निवेदनहरू केलाउने र अपुग कागजातहरू निवेदनहरूसँग माग गरी भूमिहीन दलित भूमिहीन सुकुम्बासीहरूको प्रमाणीकरण गर्ने कार्य भइरहेको छ ।
पालिकाले गर्नुपर्ने सबै प्रक्रिया तयारी अवस्थामा राखी आयोग गठन हुनासाथ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको प्रक्रिया अगाडि बढाएर पुर्जा दिलाउने योजना रहेको कार्यक्रम अधिकृत गोपाल बिकले बताए । उनका अनुसार लमही नगरपालिकाभित्र २ सय २९ भूमिहीन दलित, १३ सय भूमिहीन सुकुम्बासी, ६२ सय ६२ जना अव्यवस्थित बसोबासी र जम्मा ७ हजार ७ सय ८४ जनालाई निस्सा वितरण गरिएको छ ।
त्यसैगरी राप्ती गाउँमा २ सय २० जना भूमिहीन दलित, ५ सय ६९ जनाभूमिहीन सुकुम्बासी, ३ हजार ८ सय ४२ जना अव्यवस्थित बसोबासी गरी कुल ५ सय ६९ जनालाई निस्सा वितरण गरिएको छ ।
यस्तै, गढवा गाउँपालिकामा ३ सय १९ जना भूमिहीन दलित, ११ सय ६ जना भूमिहीन सुकुम्बासी, ६ हजार २२ जना अव्यवस्थित बसोबासी गरी कुल ७ हजार ४ सय ९४ जनालाई निस्सा वितरण गरिएको छ भने राजपुर गाउँपालिकामा ४ सय १ जना भूमिहीन दलित, ६ सय ४१ जना भूमिहीन सुकुम्बासी, ३ हजार ८ सय २० जना अव्यवस्थित बसोबासी गरी कुल ३ हजार ७ सय ४ जनालाई निस्सा वितरण गरिएको छ ।
यस कार्यलाई प्रभावकारी बनाउन र चाँडै पुर्जा दिलाउनका लागि प्रत्येक गाउँमा गाउँ भूमि अधिकार मञ्च गठन गरिएको छ । त्यस्तै, सामसोन गिरीको अध्यक्षतामा ११ सदस्यीय लमही नगरपालिकास्तरीय भूमि अधिकार मञ्च गठनसमेत गरिएको छ ।
मञ्चले समयसमयमा सरोकारवाला निकालयलाई झक्झक्याउने र आवश्यक सूचना र पुर्जा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्ने कार्य गर्ने कार्यक्रम संयोकक रेमन्त चौधरीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्