बाँके ।
सशस्त्र प्रहरी बल २९ नम्बर ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्रका दुई सहायक हवल्दार बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । ज्वालामाई गण भालुवाङको बाहिर पिङ हालेको स्थानमा लगेर दुई बालिकालाई बलात्कार गरेको खुलेपछि प्रहरीले दुई जना सशस्त्रका सहायक हवल्दारलाई पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार गत असोज २४ गते पिङ खेल्न पुगेका ८ वर्षीया र १४ वर्षीया बालिकालाई सशस्त्र प्रहरीका सहायक हवल्दार भरत रोका मगर र रेवन पचभैया मगरले बलात्कार गरेको अनुसन्धानबाट खुलेको थियो ।
दसैँको सम्मुखमा पिङ खेल्न पुगेका ती दुई बालिकालाई ज्वालामाई गणमा कार्यरत उनीहरूले बलात्कार गरेको भन्दै स्थानीयले आरोप लगाएका थिए । स्थानीयबासीले सशस्त्र प्रहरीका कर्मचारीहरूले बलात्कार गरेको थाहा पाएर बुधबार गणलाई घेराउसमेत गरेका थिए ।
स्थानीयको आरोपपछि आरोप लागेका दुवै जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइसकेको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । उनले घटनाबारे सशस्त्रले समेत आन्तरिक थप अनुसन्धान सुरु गरेको दाबी गरे ।
स्थानीयका अनुसार यसअघि ती दुई बालिका बलात्कार भएको विषयमा पटक पटक आफन्तहरूले गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रमेश थापालाई उजुरी गरे पनि ढाकछोप गर्न खोजेका थिए ।
उनले नै गत असोज २४ गतेदेखि ढाकछोप गरेर राखेको कारण आरोपितहरू पक्राउ पर्न ढिलाइ भएको थियो ।
दुई बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका दुई सहायक हवल्दारमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्