मधुवनबाट एक थान ‘होममेड’ पेस्तोल बरामद



बर्दिया ।

प्रहरीले मधुवन नगरपालिका–८ का कोठारी थारूको घरमा एक थान होममेड पेस्तोल फेला पारेको छ । भारत बहराइज जिल्लाको मोतीपुर थाना उर्लाबजार घर बताउने सरोवर राइन बसेको कोठामा प्रहरीले पेस्तोल फेला पारेको हो ।

राइन गत वैशाख १ गतेदेखि कोठा भाडामा लिएर बस्दै आएका थिए । गत भदौ २० गते घरधनीलगायत कसैलाई पनि जानकारी नगराई कोठा छोडेर गएका थिए । घरबेटीले कोठा सरसफाइ गर्ने क्रममा सेतो फाइबरको झोलाभित्र पेस्तोल फेला परेको घरधनी कोठारी थारूले बताए ।

पेस्तोल फेला परेपछि घरधनी थारूले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले पेस्तोलमा बरामद गरी आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालले बताए ।

भारतीय नागरिक सरोवन राइनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ११ गते शुक्रबार