बाँसगढी ।
बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा नेपाली कांग्रेस नेतृत्वको समावेशी प्यानल विजयी भएको छ । एक जना सदस्यबाहेक सम्पूर्ण प्यानल नै कांग्रेसका राजुप्रसाद शर्माको नेतृत्व रहेको समूहले जितेको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका नवराज रेग्मीलाई पराजित गर्दै कांग्रेसका शर्मासहितको टोली विजयी भएको हो ।
निर्वाचनमा खसेका कुल ५ सय ७९ मतमध्ये २ सय ३० मत ल्याएर शर्मा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रेग्मीले १ सय ६९ मत ल्याएका छन् । शर्मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तर्फबाट साझा उम्मेदवार बनेका थिए ।
अध्यक्ष पदका लागि नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको सहयोगमा डिलबहादुर डाँगीले प्यानलसहित र हरिप्रसाद लामिछाने (सूर्य)ले स्वतन्त्र उम्मेदवारी दिएका थिए । डाँगीले १ सय १४ र लामिछानेले ४३ मत ल्याएका छन् ।
शर्माकै प्यानलबाट ऐनबहादुर बुढा उपाध्यक्ष विजयी भएका छन् । उनले एमालेका तर्फबाट उम्मेदवार बनेका अर्जुन लामिछानेलाई पराजित गरेका हुन् । त्यस्तै, सोही प्यानलबाट सचिवमा जोहन पी अधिकारी, कोषाध्यक्षमा छविलाल रिजाल निर्वाचित भएका छन् ।
महिला सदस्यहरूमा सीताकुमारी थारू र रत्नकुमारी शर्मा विजयी भएका छन् । पाँच जना खुला सदस्यहरूमा किशोर शर्मा, पुनेसरा थारू, पुण्यप्रसाद बजगाईं, रामलाल श्रेष्ठ र नारायणप्रसाद चापागाईं विजयी भएका छन् । सदस्यमा शर्मा लोकप्रिय मत ल्याएर विजयी भएका छन् भने बजगाईं रेग्मी प्यानलका एक्लो विजेता बनेका छन् ।
बाँसगढी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा ७ सय ४६ मतदाता छन् । समितिको आठौँ अधिवेशन तथा निर्वाचनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शर्माले परिणाम घोषणापछि आफूलाई विश्वास गरी खानेपानी संस्थाका निम्ति जिम्मेवारी दिभएकोमा उपभोक्ताहरूप्रति आभार व्यक्त गरेका छन् ।
उनले बाँसगढीको खानेपानीको व्यवस्था, विकास र विस्तारमा लाग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘यहाँहरू सबैको साथ सहयोग र सकारात्मक सल्लाह सुझावको अपेक्षा गरेको छु,’ उनले भने, ‘मर्यादित ढंगले निर्वाचन सम्पन्न गराउनुहुने निर्वाचन समिति, मतदाता, सुरक्षाकर्मी, सञ्चारकर्मी, राजनीतिकर्मी, व्यवसायीलगायत शुभेच्छुकहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।’
प्रतिक्रिया दिनुहोस्