बाँके ।
सानिमा बैंक कोहलपुर शाखाले स्थापनाको चार वर्षमा आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकको कोहलपुर शाखाले उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि कोहलपुर नगरपालिकाभित्र आठ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।
कोहलपुरमा सानिमा बैंकको शाखा खुलेको चार वर्ष पूरा भएको बताउँदै शाखाका प्रबन्धक सन्तोष गुरुङले यो अवधिमा आठ जना विद्यार्थीले छात्रवृत्ति पाएको बताए ।
चालू शैक्षिक सत्र २०८१ का लागि समेत दुई जना विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको उनले मिसन टुडेलाई जानकारी दिए ।
चालु शैक्षिक सत्रका लागि कक्षा ११ पढ्ने अजयकुमार तमौली र सन्दिपा सुनार छनोट भएका छन् । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूलाई कक्षा ११ मा ५० हजार र कक्षा १२ मा ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति बैंकले प्रदान गर्नेछ ।
सानिमा बैंक कोहलपुर शाखाका प्रबन्धक गुरुङका अनुसार शैक्षिक सत्र २०८० मा मालिका यादव र आदर्श लोनिया, २०७९ मा दिपिका विके र सुलोचना खत्री तथा २०७८ मा विशाल बुढा र पूर्ण खत्रीले छात्रवृत्ति पाएका थिए । बैंकले काठमाडौँ उपत्यका बाहिरका सबै शाखाहरू रहेका पालिकाका विद्यार्थीलाई प्रत्येक वर्ष दुई/दुई जनाको दरले छात्रवृत्ति दिने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्