बाँके ।
बाँके प्रहरीले एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामबहादुर बुढामगरले जिल्लाको राप्तीसोनारी गाउँपालिका–४ स्थित एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेका दुई थान भरुवा बन्दुक बरामद गरेको जानकारी दिए ।
सूचना अधिकारी बुढामगरका अनुसार राप्तीसोनारी गाउँपालिका–४ कुम्भरस्थित शिख सामुदायिक वन उपभोक्ता समूहको कुम्भरदेखि बाँसखोली जाने गोरेटो बाटोमा एकनाले घरेलु भरुवा बन्दुक दुई थान बरामद गरिएको हो । बन्दुकसहित त्यसमा प्रयोग हुने बारुद र छर्रासमेत बरामद गरिएको उनले बताए ।
इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक भद्रसिंह ओलीको नेतृत्वको प्रहरी टोली र शिख सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल बस्नेतसहित उपभोक्ता समूहका पदाधिकारीले संयुक्त गस्ती गर्दै जाने क्रममा बुधबार बिहान उक्त बन्दुक फेला परेको थियो ।
बरामद गरिएका बन्दुक प्रहरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्