मधुर पौडेल । बाँसगढी ।
‘तपाईंले गरेको रक्तदान कसैका लागि जिवनदान’ भन्ने नाराका साथ शनिबार बर्दियाको बाँसगढीमा बृहत् रक्तदान कार्यक्रम भएको छ । युवा सञ्जाल बाँसगढीको चौथो स्थापना तथा १७औँ पुस्तकालय दिवसका अवसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।
युवा सञ्जाल र बाँसगढी सामुदायिक पुस्तकालयको आयोजनामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाहरूले सहकार्य र समन्वय गरेका थिए । बाँसगढी सामुदायिक पुस्तकालयको परिसरमा भएको रक्तदान कार्यक्रममा ९३ जनाले रक्तदान गरेको युवा सञ्जाल क्लब बाँसगढीका अध्यक्ष एकनारायण अधिकारीले जानकारी दिए ।
‘बिरामीलाई रगतको अभाव नहोस् भनेर हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका थियौँ’ उनले मिसन टुडेसँग भने, ‘कार्यक्रममा हामीले सोचेभन्दा धेरै जनाले रक्तदान गर्नुभयो । सबैप्रति हामी आभारी छौँ ।’
रक्तदान कार्यक्रममा स्थानीयबासी, विद्यार्थी, सुरक्षाकर्मी, युवाहरू लगायतले सहभागिता जनाएका थिए । कार्यक्रममा युवा क्लब तथा पुस्तकालयका पदाधिकारीहरू र सदस्यहरू, स्थानीय जनप्रतिनिधिहरू, व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्