बर्दिया ।
बर्दियास्थित बबई सिँचाइ आयोजनाको नहरमा एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बारबर्दिया नगरपालिका–९ कतर्नियाकी ३ वर्षीया प्रिन्सा चौधरीको नहरमा शव फेला परेको हो ।
बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा राति नै नहरको किनारमा बालिकाको चप्पल फेला परेको थियो ।
बालिकाको शव भने शुक्रबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक
(डिएसपी) तुल्सीराम अर्यालले बताए ।
नहर किनारमा चप्पल फेला परेपछि प्रहरीले खोजी गर्दै जाँदा चार किलोमिटर पश्चिमतर्फ वडा नं ९ स्थित धोविनपुर भन्ने ठाउँमा बालिकाको शव भेटिएको थियो ।
बालिकाको नहरले बगाएर मृत्यु भएको हो की अन्य कुनै कारणले मृत्यु भएको हो भनेर अनुसन्धान अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार
प्रतिक्रिया दिनुहोस्