बजारभरी कर्णालीको काँचो स्याउ



पछि पाकेपछि स्याउले बजार नपाउने बताउँदै किसानबाट व्यापारीहरूले काँचो स्याउ खरिद गरेर सुर्खेत, नेपालगन्ज, काठमाडौँ लगायतका सहरमा कर्णालीको काँचो स्याउ पु¥याइरहेका छन् । अहिलेसम्म पनि स्याउको पूर्णरूपमा कलर भरिएको छैन । स्याउ भने बजारैभरी आइसकेको छ ।

गणेश रावत । कोहलपुर ।

जुम्ला तिला गाउँपालिका–६ की लडु रोकाया विगत केही वर्षदेखि कोहलपुरमा मौसम अनुसार फुटपातमा फलफूल बेच्ने काम गर्छिन् । मन्डीबाट केही सस्तोमा फलफूल ल्याएर फुटपातमा बेच्नु उनको दैनिकी समेत हो ।

तर, पछिल्लो केही दिन यता जुम्लासहित कर्णाली प्रदेशका जिल्लाका स्याउ बजारमा आएपछि उनी स्याउ बिक्री गर्न व्यस्त छिन् । आफ्नैँ जुम्लाको स्याउ कोहलपुर बजारमा यसरी बिक्री गर्न पाउँदा खुसी लाग्ने गरेको रोकायाले बताइन् । तर, नपाक्दैँ काँचो स्याउ बजारमा आएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

प्रत्येक दिन जसो कोहलपुरका सडक तथा फुटपातमा केही दिन यता जुम्ला लगायतका जिल्लाको स्याउ बिक्री गर्नेहरूको लर्काे लाग्ने गरेको
छ । अहिले प्रायः सबैको हातमा र मन्डीहरूमा स्याउ मात्रै देखिन्छन् । रोकायाले भनिन्, ‘काँचो स्याउ बजारमा आएकाले एक दिन किनेका ग्राहक अर्काेदिन पाउन मुस्किल छ ।’

प्रायः किन्ने सबै ग्राहकले स्याउको कलर हेर्ने गर्छन् । तर, जुम्लाको स्याउ कलर र रस भरिन नपाउँदंै बजारमा आउँदा ग्राहकहरू किन्न नखोज्ने गरेको उनले बताइन् । त्यसैले पनि भनेअनुसार मूल्यमा स्याउ बिक्री गर्न नसकेको उनको भनाइ छ । प्रतिकिलो १ सय ६० रुपैयाँसम्म बिक्री गर्ने गरेको उनी बताउँछिन् । यो समय स्याउको रहेकाले स्याउले बजार पाएको उनको भनाइ छ । कोहलपुरका मन्डी, चोकहरूमा अहिले जुम्लाको स्याउ प्रशस्त पाइने गरेको रोकायाले बताइन् ।

सडक फुटपात र सवारी साधन रोक्ने चोकहरूमा अहिले ‘आयो हजुर… जुम्लाको अगार्निक र गुणस्तर स्याउ’ भन्दैं बिक्री गर्नेहरू पनि धेरै भेटिने गरेको उनले बताइन् । तर, जुम्लाका किसानले मूल्य राम्रो पाउने लोभले काँचो स्याउ टिपेर बजारमा पु¥याउँदा बिक्री गर्न केही समस्या भएको उनी बताउँछिन् । उनका अनुसार स्याउको पूर्णरूपमा कलर भरिएको नहुँदा ग्राहकले प्रश्न गर्ने गरेको उनले सुनाइन् ।

‘स्याउको पूर्णरूपमा कलर भरिएको छैन,’ उनले भनिन्, ‘तर,बजारमा आउँदा यसको गुलियो मात्र कम र अमिलो हुने गर्छ ।’ काँचो स्याउ लैजाँदा अमिलो हुने र जुम्ली स्याउको गुणस्तरतामाथि प्रश्न उब्जने गरेको रोकायाले मिसन टुडेलाई जानकारी दिइन् ।

केही दिनयता कोहलपुर, नेपालगन्ज, सुर्खेत, काठमाडौँ लगायतका प्रमुख बजारहरूमा जुम्लासहित कर्णाली प्रदेशका हिमाली जिल्लाका काँचो स्याउ पुगेका छन् । यसले जुम्लासहित कर्णालीको स्याउको परिचय र पहिचानलाई असर गर्ने बताइन्छ । काँचो स्याउ टिप्नाले पूर्णरूपमा पाकेको, परिपक्क भएको, रङ, गुलियो भरिएको स्याउ अहिले पाउन मुस्किल रहेको जुम्लाका डिल्ली बोहोराले बताए ।

‘भदौ महिनामा राम्रोसँग पाकेको स्याउले बजार नपाएर सडेर जाने गर्छ’ उनले भने, ‘त्यही बजार नपाउने डरले काँचो स्याउ टिप्न किसान बाध्य छन् ।’ अहिले पनि बजारको व्यवस्थापन गर्न नसक्दा यो समस्या बल्झिदैँ आएको उनले बताए । अहिले पनि जुम्लाका किसानले बजारको लागि कोहलपुर, नेपालगन्ज र काठमाडौँको भर पर्नुपर्ने बाध्यता छ ।

वर्षायाममा सामान्य पानी पर्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ निर्यातको लागि अर्काे विकल्प नहुँदा स्याउ कुहिएर जाने गरेको भन्दै उनले सरकारले जबसम्म बजारको सुनिश्चित गर्न सक्दैन तबसम्म यो समस्या रहिरहने बताए ।

जुम्ला स्याउको राजाधानी हो । यत्रि मात्र नभइ स्याउको पहिचानको जिल्ला जुम्ला हो । तर,पछिल्लो समय काँचो स्याउ टिप्दा पहिचान कायम गर्न चुनौती थपिएको छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले काँचो स्याउ नटिप्न किसानलाइ आग्रह गरिएको बताउँछन् ।

बजारमा जुम्ली स्याउको पहिचान निकै राम्रो छ । पूर्णरूपमा पाकेको स्याउ लैजाँदा बजारीकरणमा समस्या पनि आउँदैन । उनले भने,‘ नपाकेको स्याउ बजारसम्म पु¥याउनु किसानका लागि फाइदाजनक हुँदैन । यसमा सबै किसान सचेत हुन जरुरी छ ।’

किसान र व्यापारीको अटेरीपनका कारण जुम्लाको स्याउको पहिचान गुम्ने खतरा देखिएको प्रमुख देवकोटा बताउँछन् । भदौ महिनाको दोस्रो सातादेखि मात्र जुम्ली स्याउ पूर्णरूपमा पाक्छन् । एउटा स्याउमा हुनु पर्ने गुलियोपनाले पूर्णता पाउँछ । स्याउमा पुरै कलर भरिन्छ ।

हेर्दे आकर्षक देखिने जुम्ली स्याउ हरियो कलरमा, टर्रो स्वादमा बिक्री हुन थालेपछि समस्या हुन थालेको हो । यो अहिले मात्र नभइ विगत लामो समयदेखिको समस्याको रूपमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमबार