चुनावमा लागेको ऋण तिर्न विदेशिए वडाध्यक्ष



दाङ ।

जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ८ का निर्वाचित वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका छन् ।

२०७९ सालमा एमालेबाट निर्वाचित गुरुङ आर्थिक संकट धान्न नसकेपछि रोजगारीका लागि बेलायत गएको उनकी श्रीमती संगिता गुरुङले जानकारी दिइन् ।

उनका अनुसार वडाध्यक्ष गुरुङ यहीँ साउन २० गते सिजनल भिसामा बेलायत गएका हुन् । उनी वडाध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए । वडाध्यक्ष गुरुङले कार्यवाहक वडाध्यक्षको जिम्मेवारी वडा सदस्य चम्फा पुनलाई दिएका छन् ।

करिब ४० लाख ऋण भएकाले ऋण तिर्नका लागि श्रीमान् बेलायत गएको उनकी श्रीमती सङ्गीताले बताइन् । ‘करिब ४० लाख ऋण छ । वडाध्यक्षको पदले ऋण तिर्दैन,’ उनले भनिन् ‘ऋण तिर्न विदेश जानुभएको हो ।’ वडाध्यक्ष गुरुङले आफू बेलायत पुगिसकेको समेत परिवारलाई जानकारी गराइसकेका छन् ।

वडाध्यक्ष गुरुङका दुई छोरा र एक श्रीमती छन् । जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षा मा अध्ययनरत छन् । कार्यालय सहयोगी आफ्नै वडाको अध्यक्षमा निर्वाचित भएपछि उनको चर्चा देशभर चुलिएको थियो ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधबार