सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले लिए शपथ



कैलाली, २१ साउन :
मुख्यमन्त्री शाह-शपथ ग्रहण
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह सोमबार प्रदेश प्रमुखको कार्यालय धनगढीमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख नजिर मियाँ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै । तस्बिर : तिलकराज ओझा/रासस

कैलाली ।

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आइतबार एमाले र कांग्रेसको समर्थनमा नियुक्त भएका शाहले सोमबार प्रदेश प्रमुख नजिर मियाँबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह सुदूरपश्चिमका पाँचौ मुख्यमन्त्री हुन् ।

२६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहलेश राजनीतिक समीकरण फेरिएपछि गत २२ चैतमा पदबाट राजीनामा दिएका थिए । एमाले र कांग्रेसको गठबन्धन बनेपछि शाह चार महिना नबित्दै सत्तामा फर्किएका हुन् ।

सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री शाहले मन्त्रीपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेसका दुई, एमालेबाट तीन र नागरिक उन्मुक्ति पार्टीबाट एक जना मन्त्री नियुक्त गरेका हुन् भने कांग्रेसबाट दुई र एमालेबाट एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् ।

उनीहरूले पनि सपथ पद तथा गोपनीयताको सपथ लिएका थिए ।

कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननु मन्त्री र बिरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको सपथ लिएका छन् ।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाह एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार