बाँके र बर्दियासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूमध्ये राष्ट्रिय स्तरको ‘क’ वर्गमा वर्गीकरणमा पर्ने मिसन टुडे राष्ट्रिय दैनिक पहिलो र एकमात्र दैनिक पत्रिका बनेको छ ।
बाँके ।
विगत १५ वर्षदेखि बाँकेको कोहलपुरबाट निरन्तर रूपमा प्रकाशित हुँदै आएको मिसन टुडे राष्ट्रिय दैनिक पत्रिका नेपाल प्रेस काउन्सिलको पत्रपत्रिका वर्गिकरणमा राष्ट्रिय स्तरको ‘क’ वर्गमा परेको छ । शुक्रबार काउन्सिलले प्रकाशित गरेको आ.व. २०७८/०७९ को नतिजाअनुसार मिसन टुडे राष्ट्रिय दैनिक राष्ट्रिय स्तरको ‘क’ वर्गमा वर्गीकृत भएको हो ।
यसअघि पत्रिका आ.व. २०७७/०७८ को नतिजामा राष्ट्रिय स्तरको ‘ख’ वर्गमा वर्गीकृत भएको थियो । बाँके र बर्दियासहित कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट प्रकाशित हुने दैनिक पत्रिकाहरूमध्ये राष्ट्रिय स्तरको ‘क’ वर्गमा वर्गीकरणमा पर्ने मिसन टुडे राष्ट्रिय दैनिक पहिलो र एकमात्र दैनिक पत्रिका बनेको छ ।
२०६८ असार ११ गतेदेखि कोहलपुर केन्द्रित भएर मिसन टुडे राष्ट्रिय दैनिकले आफ्नो प्रकाशन यात्रा सुरु गरेको थियो । त्यतिबेला सानो र सादा किसिमले पत्रिका प्रकाशन हुन्थ्यो । ‘सूचनामा तपाईंसँगको साझेदारी’ भन्ने मूल मन्त्र लिएर नियमित प्रकाशन भएको यस पत्रिकाले व्यावसायिक र मर्यादित पत्रकारितालाई आत्मसाथ गरेको पत्रिकाका प्रकाशक तथा सम्पादक विनोद पौडेलले बताए ।
‘सानो पुँजीमा १५ वर्ष पहिलेबाट प्रकाशन भएको पत्रिका राष्ट्रिय स्तरको ‘क’ वर्गसम्म पुग्दा कठिन यात्रा पार गरेको छ’ उनले भने, ‘१५ वर्षपछि पत्रिका राष्ट्रिय ‘ख’ हुँदै ‘क’ वर्गमा पर्न सफल भएकोमा खुसी लागेको छ । यो खुसी पाठक, विज्ञापनदाता, लेखक, सहकर्मी यहाँसम्म आइपुग्दा साथ सहयोग गर्नुहुने सबैलाई समर्पित गर्न चाहान्छुँ ।’
ब्रोडसिट साइटको मिसन टुडे राष्ट्रिय दैनिक हाल कोहलपुरस्थित आफ्नै छापाखानाबाट प्रकाशन हुँदै आएको पत्रिकाका कार्यकारी सम्पादक कृष्ण ओलीले जानकारी दिए ।
उनका अनुसार पत्रिका बाँके, बर्दिया, दाङ, सुर्खेत, कैलाली, काठमाडौँसहित सात वटै प्रदेशका विभिन्न जिल्लाहरूमा विभिन्न माध्यमबाट पुगेर वितरण भइरहेको छ । कार्यकारी सम्पादक ओलीका अनुसार केही दिनमै राजधानी काठमाडौँबाट पत्रिकाको छपाईं थाल्ने तयारी भइरहेको
छ ।
हाल पत्रिकाको प्रधान कार्यालय कोहलपुरमा रहेकोमा कर्पोरेट कार्यालय नेपालगन्ज, प्रादेशिक कार्यालयहरू बुटवल, काठमाडौंँ, धनगढी कैलाली र वीरेन्द्रनगर सुर्खेत, शाखा कार्यालयहरू बाँसगढी, गुलरिया र लमही दाङमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्