कोहलपुर ।
कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले २०८० सालको एसइई परीक्षामा कोहलपुर नगरपालिकाले ल्याएको नतिजा नराम्रो नभएको दाबी गरेका छन् । यस वर्ष एसइईमा कोहलपुर नगरपालिकाको नतिजा नराम्रो आउने धेरैको आशंकाबीच कोहलपुर नगरपालिकाले राम्रो नतिजा ल्याउन सफल भएको उनको दाबी छ ।
‘अन्यत्र कसरी परीक्षा सञ्चालन भए र यस वर्ष हामीले कसरी परीक्षा सञ्चालन गरेका थियौँ, त्यो सबैलाई थाहा छ,’ नगर प्रमुख आचार्यले भने, ‘यति गर्दा पनि हामी अरूको तुलनामा कमजोर देखिएनौँ । यसले पनि कोहलपुरलाई शिक्षाको हब बनाउन सकिन्छ भन्ने कुराको शुभसंकेत गरेको छ ।’ परीक्षालाई व्यवस्थित र मर्यादित गर्दा त्यसले शिक्षाको गुणस्तरमा नकारात्मक नभएर सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।
२०८० सालको एसइई परीक्षामा कोहलपुर नगरपालिकाबाट ३१ दशमलव ९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागत र सामुदायिक गरी २ हजार ३ सय २६ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ७ सय ४३ विद्यार्थी उत्तीर्ण भएका छन् भने १ हजार ५ सय ८३ विद्यार्थी भने अनुत्तीर्ण भएका छन् ।
कोहलपुर नगरपालिकाले २०८० सालको एसइई परीक्षामा केही कडाइ गरेको थियो । विगतको तुलनामा परीक्षालाई व्यवस्थित, मर्यादित र पारदर्शी हिसाबले सञ्चालन गरिँदा त्यसको असर यहाँको समग्र नतिजामा पर्ने कतिपयकोे आशंका थियो । तर बाँकेकै पनि अन्य कतिपय पालिकाको तुलनामा कोहलपुरले राम्रो नतिजा ल्याउन सकेकोे छ ।
तथापि समग्र मुलुककै एकाधबाहेक सामुदायिक विद्यालयहरूको नतिजा सन्तोषजनक आउन नसकिरहेका बेला कोहलपुरमा पनि त्यसको प्रभाव देखिए पनि अन्यत्रको तुलनामा कमजोर देखिएको छैन । ‘कोहलपुरलाई शैैक्षिक हब बनाउने कुरा गरिरहँदा यहाँको शिक्षामा देखिएका विकृतिहरूको पनि सुधार नगरी हुँदैन,’ नगर प्रमुख आचार्य भन्छन्, ‘जुन विगतमा हुन सकेन ।’
कोहलपुरलाई शिक्षाको हब बनाउने कुरा विगत ८–९ वर्षदेखि चल्दै आए पनि त्यसका लागि कुन–कुन तत्वमा सुधार आवश्यक छ भन्ने कुरामा विगतमा ध्यान दिन नसकिएको उनले बताए । शिक्षा क्षेत्रको सुधारका लागि योजनाबद्ध तरिकाले आफूहरू अगाडि बढिरहेको उनले जानकारी दिए । शिक्षाको समग्र सुधारका लागि सामुदायिक विद्यालयहरूलाई लक्षित गरेर अगाडि बढ्नुपर्ने उनको धारणा छ ।
‘संस्थागत विद्यालयहरूको नियमन गर्दै सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर वृद्धि गर्ने कुरामा हामीले फोकस गरेका छौैँ,’ प्रमुख आचार्यले भने, ‘सामुदायिक विद्यालयहरूमा पूर्वाधार निर्माणदेखि शिक्षक व्यवस्थापन र नियमित पठनपाठनमा सुधार आवश्यक छ ।’
कोहलपुर नगरपालिकाले शिक्षा सुधारका लागि पहिलो चरणअन्तर्गत शिक्षक व्यवस्थापनलाई अगाडि सारेको छ । त्यसैगरी, विद्यालयमा शुद्धपिउने पानी, शौचालय निर्माण जस्ता न्यूनतम पूर्वाधार निर्माणमा जोड दिइएको छ । ‘हामीले शिक्षक परिपूरण गर्ने काम गरिसकेका छौँ,’ नगर प्रमुख आचार्यले भने, ‘यस वर्ष हामी विद्यालयहरूमा शुद्ध पिउनेपानी र शौचालय निर्माणको काम गर्छौँ ।’ सँगसँगै अन्य पूर्वाधार निर्माणका कामलाई पनि निरन्तरता दिइने उनले जानकारी दिए ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारको कुरा गरिरहँदा अहिले एउटा प्रश्न उठ्ने गरेको छ । शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरूले किन आफ्ना सन्तान सामुदायिक विद्यालयहरूमा भर्ना गर्दैनन् ? त्यसो गरे सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा सबैको चासो हुने र सुधार हुने धेरैको मत पाइन्छ । तर नगर प्रमुख आचार्य यसमा फरक मत राख्छन् ।
‘विद्यालय सञ्चालनका लागि राज्यले नै अनुमति दिएपछि पढ्न त्यहाँ नजाउ भन्ने कुरा हुँदैन, अर्कातिर बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकारबाट पनि कसैलाई वञ्चित गर्नुहुँदैन,’ उनी भन्छन्, ‘बरु सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरेर सबैलाई यता आकर्षित गर्न सकिन्छ ।’
नगर प्रमुख आचार्यले आगामी केही वर्षभित्र कोहलपुरका सामुदायिक विद्यालयहरूमा आफ्ना बालबालिका भर्ना गर्न शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिहरू नै लालायित हुने अवस्था सिर्जना गरिने दाबी गर्छन् । ‘सामुदायिक विद्यालयहरूको गुणस्तर वृद्धि गर्ने हो भने सबैले सामुदायिकमै भर्ना गर्ने स्थिति सिर्जना हुन्छ,’ नगर प्रमुख आचार्यले भने, ‘हामी यही स्थिति सिर्जना गर्न लागिपरेका छौँ, आगामी केही वर्षमा यहाँका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरू नै कोहलपुरका सामुदायिक विद्यालयहरूमा आफ्ना बालबालिका भर्ना गर्न आउने छन् ।’
प्रतिक्रिया दिनुहोस्