दाङ ।
वनमा च्याउ टिप्न गएका तीन महिला बाघको आक्रमणबाट घाइते भएका छन् । घाइतेहरूमा तुलसीपुर–९ बेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीय नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका उनीहरूलाई बाघले आक्रमण गरेको थियो । उनीहरूलाई सोमबार बिहान च्याउ टिप्न गएका बेला बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
उनका अनुसार कमलाको दुवै हातमा सामान्य चोट लागेको छ, सीताको ढाड र पेटमा साथै सरिताको दायाँ हातमा सामान्य चोट छ ।
घाइते तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको उपचारका संग्लन चिकित्सकले जनाएका छन् ।
वन क्षेत्रमा बाघलगायतका जंगली जनावरको जोखिम हुने भएकाले सचेत रहन प्रहरीले सबैलाई आग्रह गरेको छ । केही दिनअघि मात्र बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ओभरीमा च्याउ टिप्न स्थानीय वनमा गएको बेला रूखको हाँगा लागेर एक महिलाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्