नदीजन्य पदार्थको मौज्दात प्रमाणित गर्न क्रसरलाई राप्ती सोनारीको ताकेता



कोहलपुर ।

राप्ती सोनारी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगहरूलाई मौज्दात प्रमाणित गर्न तेस्रो पटक पत्र काटेको छ । यसअघि पटकपटक माग गर्र्दा पनि मौज्दात प्रमाणितका लागि क्रसर उद्योगहरूले चासो नदिएपछि तेस्रोपटक पत्र काटिएको हो ।

यसअघि असार २ गते र असार ७ गते छुट्टाछुट्टै पत्र पठाएको भए पनि विवरण दर्ता गर्न उद्योगहरू नआएको राप्ती सोनारी गाउँपालिकाको कार्यालयले जनाएको छ ।

‘यस कार्यालयको मिति २०८१/०३/०२ को च नं ३१०५ र २०८१/०३/०७ को च नं ३१४५ को पत्र प्राप्त गर्नुभएकै होला,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीद्वारा जारी सूचनामा भनिएको छ, ‘उक्त पत्रबाट माग गरिएको ढाँचामा हालसम्म मौज्दात प्रमाणितका लागि विवरण प्राप्त हुन नआएकाले अविलम्ब यस कार्यालयमा आ–आफ्नो उद्योगको विवरण अनिवार्य पठाउनुहुन सम्बन्धित सबै क्रसर उद्योगहरुलाई पुनः जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

गाउँपालिकाले यसअघि पठाइएका दुई पत्रको चलानी नम्बरसमेत उल्लेख गरेर तेस्रो पटक असार ११ गते अर्को सूचना जारी गरेको हो । सूचना जारी भएपछि केही क्रसर उद्योगहरूले विवरण पठाएको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार