कोहलपुर उद्योग बाणिज्य संघको आगामी निर्वाचन ः यस्ता छन् सुरुवाती चर्चाका उम्मेदवार



स्रोतका अनुसार कांग्रेसका तर्फबाट वर्तमान अध्यक्ष पौडेल वरिष्ठ उपाध्यक्ष प्रदीप भट्टराईका पक्षमा देखिएका छन् भने संघका पूर्वअध्यक्ष चक्र अधिकारी ईश्वर श्रेष्ठको पक्षमा छन् । त्यसैगरी, संघका वर्तमान उपाध्यक्ष चण्डी गैरे र महासचिव मातृका सापकोटाको नाम पनि आगामी अध्यक्षका लागि चर्चामा छ । यद्यपि पार्टीले त्यस विषयमा कुनै निर्णय गरिसकेको अवस्था भने छैन ।

मिसन संवाददाता
कोहलपुर, २४ जेठ

कोहलपुर उद्योग बाणिज्य संघले आगामी कात्तिक ३ गते चुनावको मिति तोकेको छ । चुनावको मिति तोकिएसँगै संघको आगामी नेतृत्वका लागि चहलपहल सुरु भएको छ । चुनावको दिन आउन अझै केही महिना बाँकी रहे पनि आकांक्षीहरूले अहिलेदेखि नै भेटघाट र दौडधुप तीव्र पार्न थालेको पाइएको छ ।
वर्तमान अध्यक्ष लक्ष्मणराज पौडेलले दोहोरिने रुचि नदेखाएपछि संघकै पदाधिकारीमध्येका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायतका व्यक्तिको आगामी नेतृत्वका लागि चर्चा सुरु भएको छ ।

‘हो, कतिपय साथीहरूले आकांक्षा देखाउनुभएको छ, जुन स्वाभाविकै हो,’ अध्यक्ष पौडेलले भने, ‘संघकै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षलगायतका साथीहरूको चर्चा चलिरहेको छ ।’ आफू भने संघमा नदोहोरिने उनले स्पष्ट पारे । एकै ठाउँमा पटकपटक दोहोरिने कार्यले संस्थाको नेतृृत्व विकासमा असर पुग्ने उनको भनाइ छ । व्यापारीहरू अप्ठेरो स्थितिमा रहेको वर्तमान अवस्थामा व्यापारीहरूका समस्या बुझ्न सक्ने खालको आगामी नेतृत्व चयन हुनुपर्ने उनले बताए ।

दलीय प्रतिस्पर्धाका आधारमा हुने व्यापारीहरूको चुनावमा अन्य दलमा त्यति चर्चा परिचर्चा नभए पनि कांग्रेसका तर्फबाट उम्मेदवारी दिनेहरूका विषयमा भने बजारमा यसअघिदेखि नै चर्चा सुरु भइसकेको छ । कांगे्रसभित्र पनि कुन उम्मेदवारलाई अगाडि सार्ने भनेर स्थानीय नेताहरूबीच यतिबेला लबिङ सुरु भएको छ ।

कोहलपुर उद्योग बाणिज्य संघमा विशेषगरी नेपाली कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुँदै आएको छ । पछिल्लो समय नेपाली कांग्रेसले बहुमतका साथ संघमा नेतृत्व लिँदै आएको छ । एमालेका तर्फबाट संघका संस्थापक अध्यक्ष कर्णबहादुर थापापछि संंघमा एमालेले आफ्नो वर्चस्व गुमाउँदै आएको छ । त्यसपछिका चुनावमा एमालेले अध्यक्षमा जित हात पार्न सकेको छैन । अहिले पनि संघमा कांग्रेसको बहुमतसहितको नेतृत्व छ ।

यतिबेला कांग्रेसका तर्फबाट स्पष्ट दुई खेमाले आ–आफ्ना पक्षका उम्मेवारलाई अगाडि सारिरहेका छन् । स्रोतका अनुसार वर्तमान अध्यक्ष पौडेल वरिष्ठ उपाध्यक्ष प्रदीप भट्टराईका पक्षमा देखिएका छन् भने संघका पूर्वअध्यक्ष चक्र अधिकारी ईश्वर श्रेष्ठको पक्षमा छन् । त्यसैगरी, संघका वर्तमान उपाध्यक्ष चण्डी गैरे र महासचिव मातृका सापकोटाको नाम पनि आगामी अध्यक्षका लागि चर्चामा छ । यद्यपि पार्टीले त्यस विषयमा कुनै निर्णय गरिसकेको अवस्था भने छैन ।

संघको चुनावकै सन्दर्भलाई लिएर कांग्रेसले नगर सभापति वीरेन्द्र शाहको संयोजकत्वमा ५ सदस्यीय समितिसमेत बनाएको छ । जसमा संघका वर्तमान अध्यक्ष पौडेल, चिन्तामणि धिताल, संघका पूर्वअध्यक्ष चक्र अधिकारी र बलराम शर्मा सदस्य रहेका छन् । तर समितिले यस विषयमा कुनै छलफल नगरेको सभापति शाहले बताए । ‘अहिल्यै के हतार भयो र ! अझै थुप्रै समय बाँकी छ,’ उनले भने, ‘हामी छलफल गरेर पार्टीका तर्फबाट योग्य उम्मेदवार छनोट गर्छौं ।’

त्यसैगरी, एमालेले पनि आफ्नो तर्फबाट संघको आगामी निर्वाचनका लागि तयारी गरिरहेको जनाएको छ । ‘एमालेले संघको आगामी निर्वाचनका लागि पूर्ण तयारी थालेको छ,’ एमाले कोहलपुर नगर कमिटीका अध्यक्ष कुलबहादुर भट्टराईले भने, ‘यस विषयमा एक ढिक्का र एक मनाका साथ पार्टी अगाडि बढ्छ ।’ एमालेले संघको आगामी चुनावकै सन्दर्भमा छलफल गर्न आज बैठकसमेत राखेको छ ।

विगतमा संघमा पार्टीले गुमाएको वर्चस्वको क्षतिपूर्ति गर्ने गरी एमाले तयारीमा लागेको अध्यक्ष भट्टराईले दाबी गरे । एमालेका तर्फबाट संघको आगामी अध्यक्षका लागि विशेषगरी दुई जनाको नाम चर्चामा छ । गुरु टे«डर्सकी अञ्जना धिताल र जुत्ता चप्पल व्यवसायी संघ कोहलपुरका पूर्वअध्यक्ष बलराम देवकोटाको नाम एमाले पंक्तिमा चर्चामा आएको छ । धिताल कोहलपुरकी सफल व्यवसायीका अलावा अनेमसंघकी केन्द्रीय सदस्यसमेत हुन् । देवकोटा भने यसअघिको संघको चुनावमा उपाध्यक्षका लागि वर्तमान मेयर संगीता सुबेदीसँग झिनो मतले पराजित भएका व्यक्ति हुन् ।

देवकोटाले अनौपचारिक रूपमा पार्टीका तर्फबाट आगामी अध्यक्षको उम्मेदवारका लागि आफ्नो नाम चर्चामा आए पनि पार्टीले औपचारिक निर्णय नगर्दासम्म आफूले यसबारेमा कुनै टिप्पणी नगर्ने बताए । पार्टीको निर्णयलाई स्वीकार गरेर जाने उनको भनाइ छ ।

अध्यक्षका लागि कांग्रेस र एमालेका तर्फबाट यी केही नाम चर्चामा रहे पनि अन्य पदाधिकारी तथा सदस्यहरूको भने अहिले नै खासै कुनै चर्चा सुरु भएको पाइँदैन ।
उद्योग बाणिज्य संघ एउटा व्यावसायिक संगठन भएकाले सकेसम्म योग्य र सक्षम नेतृत्वको खोजी गर्नुपर्ने संघका अध्यक्ष पौडेलेको भनाइ छ । ‘यस्ता व्यावसायिक संगठनहरूमा व्यवसायी अगाडि राजनीति पछाडि हुनुपर्ने हो,’ उनले भने, ‘तर दुर्र्भाग्य, हामीकहाँ राजनीति अगाडि व्यवसाय पछाडि भयो ।’

संघमा सकेसम्म आफू सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको उनले बताए । ‘सकेसम्म सबै पक्षका योग्य र सक्षम साथीहरू छुट्नुहुन्न भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘म त सर्वसम्मत नेतृृत्व चयन भइदिए हुुन्थ्यो भन्ने पक्षमा नै छु ।’ यसका लागि आफूले यहाँका सबै दलका नेता, व्यवसायी, बुद्धिजीवी, संघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरूलाई बोलाएर बृहत् छलफलसमेत चलाउने जानकारी दिए ।

सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी तयार रहेको एमाले नगर अध्यक्ष भट्टराईको भनाइ छ । ‘सहकार्यबाट एमाले कहिल्यै पछाडि हट्दैन,’ भट्टराईले भने, ‘तर त्यो सम्मानजनक र सहअस्तित्वसहितको हुनुपर्छ ।’ उनले पनि संघको आगामी नेतृत्वमा योग्य, सक्षम र व्यावसायिक व्यक्ति आउनुपर्ने धारणा राखे ।

संघले सदस्यता नवीकरणका लागि साउन ६ गतेसम्मको म्याद तोकेको छ । सदस्यता नवीकरणको काम धमाधम भइरहेको संघले जनाएको छ । करिब २ सय जति सदस्यता नवीकरण भइसकेको अध्यक्ष पौडेलले बताए । गत चुनावमा ३४ सयभन्दा बढी सदस्य रहेकोमा यसपटक सदस्य संख्या घट्ने अनुमान गरिएको छ ।

विगतमा सदस्यता वितरणको अवस्था भद्रगोल देखिएपछि विधान नै संशोधन गरेर त्यसलाई व्यवस्थित गर्ने काम गरिएको अध्यक्ष पौडेलेको भनाइ छ । ‘विगतमा उम्मेदवार आफैँले आफ्नो पक्षका सदस्यहरूको सदस्यता नवीकरण गरिदिने परिपाटी थियो,’ उनले भने, ‘विधान नै संशोधन गरेर हामीले त्यसलाई व्यवस्थित गरेका छौँ ।’ उनले नयाँ दर्ता भएका र साउन ६ गते ५ बजेपछि नवीकरण भएका सदस्यले निर्वाचनमा भाग लिन नपाउने पनि स्पष्ट पारे ।

 

प्रकाशित मिति : २०८१ जेठ २५ गते शुक्रबार