राप्ती सोनारी र नरैनापुरका सीमा नाका बन्द



बाँके ।

जिल्ला प्रशासन कार्यालय बाँकेले भारतीय सीमा जोडिएका बाँकेका राप्ती सोनारी र नरैना पुरका नाकाहरु तीन दिन बन्द गर्ने निर्णय गरेको
छ । भारतीय लोकसभा चुनावका कारण ती नाका तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

राप्ती सोनारी र नरैनापुरसँग सीमा जोडिएको भारतीय जिल्ला श्राबस्तीमा यही जेठ १२ गते शनिबार (मे २५ तारिख) हुन गइरहेको भारतीय लोकसभा निर्वाचनका लागि त्यहाँका सीमा नाका बन्द गर्ने निर्णय गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले एक सूचना जारी गर्दै बिहीबार राति साढे १० बजेदेखि शनिबार बेलुकी ५ बजेसम्मका लागि यहाँका सीमा नाका सिल गरिएको जानकारी दिएका छन् ।

भारतीय निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सीमा नाका तीन दिन बन्द गर्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी माझीले जनाएका छन् ।

प्रकाशित मिति : २०८१ जेठ ११ गते शुक्रबार