ढोरपाटन ।
वैधानिक रूपमा सिकार खेल्न पाइने नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १० नाउर र ७ झारलको सिकार भएको छ । दोस्रो सिकार याममा ढोरपाटन आरक्षले सिकार ब्लकमा वन्यजन्तु विभागको अनुमतिमा ११ नाउर, ७ झारल र ४ बँदेलको सिकार गर्न अनुमति दिएको थियो ।
अनुमति पाएका ३ बँदेलको सिकार गर्न नसकेको र १ नाउर र १ बँदेलको सिकारका लागि अनुमति प्राप्त गरी राजस्व बुझाएका रसियन सिकारी सिकार खेल्नै नआएको ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले जानकारी दिए ।
सूचना अधिकारी अधिकारीका अनुसार विदेशी सिकारीले नाउर सिकारका लागि प्रतिस्पर्धाका आधारमा २१ लाख रुपैयाँ राजस्व बुझाएको र एक झारलका लागि अधिकतम १८ लाख रुपैयाँ राजस्व बुझाएका थिए । ‘दोस्रो वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्वेकिस्तान, मेक्सिको र बुल्गेरियाका सिकारीले अनुमति पाएका थिए,’ उनले भने ।
यसवर्ष स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र उज्वेकिस्तानका एक सिकारी छनोट भएका थिए । सिकारीहरू बन्दोबस्तीका सामग्रीसहित गत फागुन १८ गतेदेखि सिकार खेल्न सुरु गरेका थिए ।
सिकार खेल्ने क्रममा नेपाली सहयोगीसहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिएको आरक्षका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वर्षको पहिलो सिकार याम असोज–मंसिरमा ८ नाउर, ४ झारल र आठ बँदेलको सिकार गरिएको थियो ।
सिकारका आरक्षको क्षेत्रलाई सेङ, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुन सात ब्लकमा विभाजन गरिएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ । यसपटकको सबैभन्दा बढी सिकार घुस्तुङ, दोगाडी र सेङ ब्लकमा सिकार भएको जनाइएको छ ।
विदेशी सिकारीसहितको समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेलिसक्नुपर्ने हुन्छ । जंगलमै बास बस्ने सिकारीले आरक्ष प्रवेश गरेपछि निर्धारित समयमा मात्रै सिकार खेल्न पाउँछन् । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकोप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करिब ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्