नेपालगन्जमा गृहमन्त्रीको पुत्ला दहन



बाँके ।

उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको नेपालगन्जमा पुत्ला दहन गरिएको छ । सदरलाईनस्थित टांगा स्टेशन नजिकै बिहीबार साँझ पुत्ला जलाइएको हो ।

सहकारी ठगीमा आफू संलग्न भएपनि सत्ताको दुरुपयोग गरेर प्रहरीलाई मुद्दा चलाउन नदिएको, तर सहकारी ठगीका विषयमा निरन्तर समाचार लेख्ने कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको नागरिकतामा विवाद झिकेर पक्राउ गरिएको भन्दै नागरिक स्तरबाट स्वतःस्फुर्त रुपमा पुत्ला जलाइएको हो ।

सहकारी ठगी विरुद्ध समाचार लेख्ने स्वतन्त्र प्रेसलाई तर्साउने गृहमन्त्री लामिछानेको योजना अनुसार सिरोहियालाई पक्राउ गरेको उनीहरूको ठहर छ । सो क्रममा उपस्थित सर्बसाधारणले गृहमन्त्री राजिनामा दे, सहकारी ठग मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

विरोध प्रदर्शनमा सहभागी नागरिक समाजका अगुवाले यो कदम प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको भन्दै मिडिया माथिको आक्रमण रोक्न माग गरेका छन् ।

अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर केन्द्रीय कार्यालयको कार्यकक्षबाटै प्रहरीले पक्राउ गरेको थियो । प्रतिशोधका आधारमा अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ जेठ ११ गते शुक्रबार