बाँसगढीको बठुवामा बाघको आक्रमणबाट महिलाको मृत्यु



कोहलपुर ।

बाँसगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब २ बजेतिर बठुवा दिदीको घरतिर जाने क्रममा ३५ वर्षीया मनीषा रोकायको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।

रोकाय दिदी कैलाशपति थारूसँग उनकै घर बठुवातिर जाँदै थिइन् । वनछेउमा पुगेपछि पिसाब फेर्न भन्दै बाटोबाट झाडीतिर लागेकी रोकायलाई पिसाब फेर्ने क्रममा बाघले आक्रमण गरेको प्रत्यक्षदर्शी दिदी कैलाशपतिले बताइन् ।

‘दिदी बहिनी बाँसगढी बजारबाट हाम्रो घर बठुवा जान भनेर हिँडेर जाँदै थियौँ, बहिनी पिसाब फेर्न भनेर सडकदेखि केही भित्र वनतिर पसी, यहीबेला बाघले बहिनीलाई एक्कासि आक्रमण ग¥यो,’ ४० वर्षीया कैलाशपतिले भनिन् । बहिनीलाई बाघले आक्रमण गरेपछि कैलाशपतिले चिच्याउँदै गाउँलेहरूलाई खबर गरेकी थिइन् । तर गाउँलेहरू जम्मा हुँदा उनको मृत्यु भइसकेको थियो ।

सो स्थानमा स्थानीयबासीले अघिल्लो दिनदेखि बाघ देखेका थिए । ‘सोही दिन बिहान पनि सो वनमा स्थानीयले बाघ देखेका रहेछन्,’ इलाका प्रहरी कार्यालय बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक रुपेश साहले भने, ‘बाघ देखिएपछि स्थानीयले एक्लैदुक्लै वनतिर नजान गाउँलेहरूलाई सचेत पनि गराएका रहेछन् ।’

मृतक रोकायको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पठाइएको प्रहरी निरीक्षक साहले जानकारी दिए । रोजगारीका सिलसिलामा भारतको गुजरातमा बस्दै आएकी रोकाय केही दिनदेखि बठुवास्थित दिदीको घरमा बस्दै आएकी थिइन् ।

घटनापछि सो क्षेत्रका स्थानीयबासी त्रसित बनेका छन् । सो क्षेत्रमा पहिलो पटक बाघको आक्रमणबाट मानिसको मृत्यु भएको हो । सो बाटो मध्यवर्ती क्षेत्रका बेलौली, अस्नेरी जाने चल्तीको बाटो हो ।

सो क्षेत्रमा बाघको आक्रमणपछि स्थानीयबासीले बर्दिया राष्ट्रिय निकुञ्जलार्ई सो बाघलाई नियन्त्रणमा लिन गर्न आग्रह गरेका छन् । राष्ट्रिय निकुञ्जको टोली आएर सो क्षेत्रमा बाघ नियन्त्रणको प्रयास थालिसकेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेठ ११ गते शुक्रबार