बाँके ।
एमाले महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले सत्ता प्राप्तिका लागि अनेकन् हथकण्डा अपनाउने गरेको बताएका छन् । एमाले बाँकेको नवौं जिल्ला अधिवेशनको शुक्रबार नेपालगन्जमा उद्घाटन गर्दै उनले कांग्रेस सत्ताबिना तीन महिना पनि धैर्य गर्न नसकि विभिन्न हथकण्डा अपनाउने गरेको बताएका हुन् ।
उनले सत्ताबिनाको कांग्रेसका बारेमा सोच्न पनि नसकिने अवस्था आएको बताउँदै आफू सत्तामा टाँसिनका लागि अनेकन स्टन्ट र हथकण्डा अपनाएको आरोप लगाए । महासचिव पोखरेलले समीकरण परिवर्तन भएपछि कांग्रेसमा सत्ताका लागि छटपटाहट देखापरेको बताउँँदै भने, ‘नेपाली कांग्रेस सत्ताका लागि मरिहत्य गर्ने पार्टी हो । उसले सत्ताबाहिर बस्ने कल्पनासमेत गर्न सक्दैन ।’
नेता पोखरेलले एमाले सरकार र सत्ता नभएपछि छटपटाउने पार्टी नभएको दाबी गरे । एमाले आलोपालो सरकारभन्दा पनि राजनीतिक स्थायित्वको पक्षमा रहेको समेत स्पष्ट पार्दै महासचिव पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको उल्लेख
गरे । जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा उपनिर्वाचनबाट पुष्टि भएको उनले दाबी गरे ।
महासचिव पोखरेलले संसदमा कांग्रेसको प्रस्तुति गुन्डागर्दीको शैलीमा भएको टिप्पणी गर्दै आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको व्यक्ति रवि लामिछानेले नमान्दा अनेकन बखेडा झिकेको दाबी गरे ।
अधिवेशन उद्घाटन समारोहमा एमाले सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरी, पोलिटब्युरो सदस्य तथा बाँके इन्चार्ज खेममान खड्कालगायतले अधिवशेन सफलताको शुभकामना दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्