प्रभावकारी बन्दै ‘डिजिटल बाँसगढी’



सार्वजनिक सेवा सूचना प्रणालीअन्तर्गत सेवाग्राहीले नगरपालिकाबाट आफूले लिने सेवाको प्रगतिका बारेमा सूचना लिन सक्छन् । अर्थात सेवाग्राहीले अनलाइनमार्फत आफ्नो काम वा फाइल कहाँ पुगरे अड्किएको छ र कहिलेसम्म काम हुन्छ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्छन् । यसबाट कर्मचारीको कामको मूल्यांकन गर्न पनि सहज हुने विश्वास लिइएको छ ।

कोहलपुर ।

गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा बाँसगढी नगरपालिकाले ‘डिजिटल बाँसगढी’ कार्यक्रम घोषणा गरेर आफ्ना सम्पूर्ण सेवाहरूलाई अनलाइनमार्फत सेवाग्राहीसम्म पु¥याउने लक्ष्य लिएको थियो । सूचना प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकारको स्वीकृत कार्यढाचा अनुसार यो कार्यक्रम घोषणा गरिएको थियो । जुन हाल नगरभित्र प्रभावकारी बन्दै गएको छ ।

नागरिकले घरमै बसेर अनलाइनमार्फत नगरपालिकाले उपलब्ध गराउने सबैखाले सेवा लिनसक्ने गरी यो प्रणाली लागू गरिएको छ । सेवाग्राहीले वेबसाइट र मोबाइल एप्लिकेसनबाट निवेदन दिन सक्ने गरी यसको विकास गरिएको छ । दर्ता–चलानीदेखि कार्यालयबाट प्रदान गरिने सबैजसो काम अनलाइनबाटै हुन्छन् । सबैखाले शुल्क, दस्तुर तिर्न, फाइल दर्ता, नवीकरण गर्न र भुक्तानी प्राप्त गर्नका लागि यो सहायकसिद्ध हुँदै आएको छ ।

यो सेवालाई अझ विस्तार गर्दै बाँसगढी नगरपालिकाले बुधबारदेखि सार्वजनिक सेवा सूचना प्रणाली (पीएसआइएस)लागू गरेको छ । बाँगगढी नगरपालिकाका नगर प्रमुख खड्कबहादुर खड्काले बुधबारदेखि यो सेवाको शुभारम्भ गरेका छन् ।

सो अवसरमा बोल्दै नगर प्रमुख खड्काले बाँसगढी नगरपालिकाले सुरु गरेको अनलाइन सेवा प्रभावकारी बन्दै गएको बताए । सूचना प्रविधिको प्रयोगबाट नगरको आर्थिक रुपान्तरण र समृद्धिमा सघाउन पु¥याउन नगर सरकारले ‘डिजिटल बाँसगढी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको र यसका सेवाहरू थप गर्दै गएको नगर प्रमुख खड्काको भनाइ छ ।

सार्वजनिक सेवा सूचना प्रणालीअन्तर्गत सेवाग्राहीले नगरपालिकाबाट आफूले लिने सेवाको प्रगतिका बारेमा सूचना लिन सक्छन् । अर्थात सेवाग्राहीले अनलाइनमार्फत आफ्नो काम वा फाइल कहाँ पुगरे अड्किएको छ र कहिलेसम्म काम हुन्छ भन्ने कुराको जानकारी प्राप्त गर्न सक्छन् ।

बाँसगढीका प्रायः वडा कार्यालयहरूले यही प्रणालीमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएका छन् । नगरपालिका कार्यालयमा भन्दा पनि वडा कार्यालयहरूमा अनलाइन प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको बाँसगढी नगरपालिकाका योजना अधिकृत खड्क वलीले जानकारी दिए ।

‘सम्पूर्ण पालिकाभरि नै यही प्रणालीबाट सेवा प्रवाह हुँदै आएको छ,’ अधिकृत ओलीले भने, ‘त्यसमा पनि वडाहरूमा यो सेवा अझ प्रभावकारी रूपमा सञ्चालन भएको छ ।’ सूचना प्रविधिको तीव्र विकास भइरहेको सन्दर्भमा प्रविधिमार्फत नगरपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन यो कार्यक्रम घोषणा गरिएको वलीले बताए । नगरपालिकाको तथ्यांकअनुसार अहिलेसम्म अनलाइन प्रणालीबाट १० हजार ७ सय ३ जनाले सेवा लिएका छन् ।

गत आवको नीति तथा कार्यक्रममा ‘डिजिटल बाँसगढी’ कार्यक्रम घोषणा गरिए पनि यसको कार्यान्वयनमा भने केही ढिलाइ भएको वलीले बताए । असोजपछि मात्र यो कार्यक्रम कार्यान्वयनमा आउन सकेको उनले जानकारी दिए ।

‘यसले पनि अनलाइन प्रयोगकर्ताको संख्या त्यति धेरै बढ्न नसकेको हुनसक्छ,’ उनले भने, ‘यसको प्रयोगबाट सेवाग्राहीलाई निकै सहज हुन्छ, भविष्यमा यसका प्रयोगकर्ता बढ्दै जानेछन् ।’ बुधबारदेखि सुरु गरिएको सार्वजनिक सेवा सूचना प्रणालीले अनलाइन प्रयोगकर्ता सेवाग्राहीलाई थप सुविधा दिनुका साथै कर्मचारीको कामको मूल्यांकन गर्न पनि सहज हुने वलीले बताए ।

स्थानीय पालिकाहरूबाट संघीय सरकारले माग गर्ने ‘असल अभ्यास’का कार्यक्रमअन्तर्गत बाँसगढी नगरपालिकाको ‘डिजिटल बाँसगढी’ कार्यक्रम छनोटमा परेपछि बाँसगढी अनलाइन सेवा प्रवाह गर्ने देशकै पहिलो नगरको रूपमा चुनिएको थियो । ‘यसअघि यस्तो कार्यक्रम कुनै पालिकाले लागू गरेको रहेनछ,’ वलीले भने, ‘डिजिटल सेवा प्रवाह गर्ने पहिलो पालिका बाँसगढी नै रहेछ ।’

अनलाइन सेवा सञ्चालनका लागि प्रत्येक वडा कार्यालयमा आवश्यक पर्ने प्राविधिक जनशक्तिको समेत व्यवस्था गरिएको बाँसगढी नगरपालिकाका सूचना तथा प्रविधि शाखा प्रमुख क्षितिज पौडेलले जानकारी दिए । वडा कार्यालयहरूमा चौथो तहको सहायक कम्प्युटर अपरेटर नियुक्ति गरिएको, अपरेटर नभएका वडामा सामाजिक परिचालक र त्यो पनि नभए वडा सचिवहरूलाई यो सेवा सञ्चालनबारे तालिम दिएर सेवा प्रवाह भइरहेको उनले बताए ।

नगरपालिका कार्यालयबाट ५० प्रतिशत सेवा अनलाइनमार्फत सञ्चालन हुँदै आए पनि वडा कार्यालयहरूबाट भने शतप्रतिशत यही प्रणालीबाट सेवा सञ्चालन हुँदै आएको पौडेलले बताए । ‘वडा कार्यालयहरूमा यो सेवा निकै प्रभावकारी भएकोे छ,’ उनले भने, ‘पछिल्लो समय यो सेवाप्रति आम सेवाग्राहीको चासो बढ्दै गएको छ ।’

प्रकाशित मिति : २०८१ जेठ ४ गते शुक्रबार