कोहलपुरका किसानलाई अनुदानमा उन्नत धानको बीउ



कोहलपुर ।

कोहलपुर नगरपालिका कृषि विकास शाखाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको छ ।

मंगलबार कोहलपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालको प्रमुख आतिथ्यमा किसानलाई उन्नत धानको बीउ वितरण गरिएको हो ।

सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले कृषि विकास शाखाले किसानलाई कोहलपुरको माटो सुहाउँदो विभिन्न उन्नत जातको बीउ वितरण गरेकाले उत्पादन बढ्ने विश्वास लिए । गुणस्तर र माटो सुहाउँदो उन्नत जातको धानको बीउले थोरै लगानीमा धेरै धान फलाउन सकिने उनले बताए ।

त्यस्तै सो अवसरमा बोल्दै कृषि विकास शाखा प्रमुख चन्द्रबहादुर बुढाले नगरपालिकाभित्र रहेका १५ वटै वडाका किसानहरूको मागका आधारमा उन्नत जातको धानको बीउ वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार कृषि शाखाबाट राधा ४, राम, हर्दिनाथ ६ जस्ता उन्नत जातका धानका बीउ वितरण गरिएको छ । किसानको माग अनुसार शाखाले १० हजार ३ सय ५० केजी उन्नत धानको बीउ खरिद गरी वितरण गरेको उनले मिसन टुडेलाई जानकारी दिए ।

‘म शाखा प्रमुख भएर आएको ६ वर्ष भयो, तर अहिलेसम्म समयमै धानको बीउ वितरण गर्न सकेका थिएनौँ,’ उनले भने, ‘यो वर्ष पहिलोपटक समयमै बीउ वितरण गर्न सफल भएका छौँ ।’

विगतका वर्षमा झैँ समयमै धानको बीउ नपाउँदा बजारबाट महँगोमा किन्नुपर्ने बाध्यता यस वर्ष हटेको किसान दुर्गाबहादुर बस्नेतले बताए । धानको उन्नत जातको बीउ समयमै पाउदा खुसी लागेको उनको भनाइ थियो ।

अर्का किसान लीलाराम भट्टराईले कृषि शाखाले प्रदान गर्ने बीउहरूले धानको उत्पादन वृद्धि भएको बताए । ५० प्रतिशत अनुदानमा बीउ पाउँदा आर्थिक रूपमा पनि केही राहत भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार