बाँकेबाट भागेका सिडिओको सात महिनामै काजसरुवा



कोहलपुर ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको काजसरुवा भएको छ । पोखरेललाई गृह मन्त्रालयअन्तर्गत बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा काजसरुवा गरिएको हो ।

मन्त्रिपरिषद् बैठकले मंगलबार विभिन्न निकाय, मन्त्रालय र प्रदेश मन्त्रालयहरूका सचिवहरूको सरुवा गर्ने क्रममा पोखरेलललाई हेटौँडा काजमा पठाएको हो । ६० जना सहसचिवको सरुवामा पोखरेललाई हेटौँडामा काजसरुवा गरिएको छ । ६० जनामा पोखरेल अन्तिम नम्बरमा परेका छन् ।

यसअघि बाँकेमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका उनी बाँकेमा विवादित भएपछि एकाएक भगौडा शैलीमा काठमाडौँ पुगेका थिए । अत्यन्त संवदेनशील जिल्लाका रुपमा चिनिने बाँकेमा अनेकौँ सुरक्षा चुनौती रहिरहेका बेला उनी भने कार्यालयमा समेत खबर नगरी सुटुक्क काठमाडौँ पुगेका थिए ।

उनी बाँके आएको सात महिनामै यहाँबाट बाहिरिएका छन् । बाँकेमा उनी असफल प्रशासकका रुपमा दरिएका छन् । उनले जिल्लाको नेतृत्व सम्हालिरहँदा बाँकेमा थुप्रै चोरी, लुटपाट र हत्याका घटनाहरु भएका छन्् ।

सार्वजनिक तथा सरकारी अतिक्रमित जग्गा फिर्ता ल्याउन गृह मन्त्रालयले दिएको निर्देशन पालनामा समेत पोखरेल असफल रहे । पछिल्लो समय उनी विभिन्न मुद्दामा विवादित बन्दै आएका थिए ।

रुखो स्वभावका कारण सेवाग्र्राही, सञ्चारकर्मीदेखि आफ्नै सहकर्मीसमेतलाई चिढाउँदै आएका पोखरेल बाँकेमा बस्न सक्ने अवस्था नभएपछि एकाएक भागेर एक साताअघि गत बुधबार काठमाडौँ पुगेका थिए ।

उनी बाँकेमा असफल प्रशासकका रुपमा त चिनिएका थिए नै त्यसमाथि भागेर जिल्ला छाडेपछि उनलाई गैरजिम्मेवार व्यक्तिका रुपमासमेत चित्रित गर्न थालिएको छ ।

प्रकाशित मिति : २०८१ जेठ २ गते बुधबार