‘एक हप्तामा पनि नहटे म आफैँले बल प्रयोगको कमान्ड गर्नेछु,’ गृहमन्त्री रबि लामिछानेको भनाइ उद्धृत गर्दै भेटमा सहभागी सांसद सूर्यप्रसाद ढकालले मिसन टुडेसँग भने, ‘कोहलपुरको मात्र होइन देशैभरिको लालपुर्जावाला सरकारी जग्गा फिर्ता ल्याउने अभियानमा म छु ।’
कोहलपुर ।
कोहलपुर नगर विकास समितिको स्वामित्वमा रहेको क्रिकेट मैदान आसपासको २८ बिघाभन्दा बढी जग्गा खाली गराउने विषय पुनः केन्द्रमा पुगेको छ । अतिक्रमित जग्गा फिर्ता गराउने विषयमा ठोस पहल हुन नसकेपछि कोहलपुर नगर विकास समितिका अध्यक्ष तथा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले काठमाडौँ पुगेर पुनः यस विषयमा गृहमन्त्री रबि लामिछानेको ध्यानाकर्षण गराएका छन् ।
यस क्षेत्रका संघीय सांसद तथा प्रदेश मन्त्रीसहित मंगलबार मन्त्रालय पुगेका नगर प्रमुख आचार्यले गृहमन्त्रीलाई यहाँको वस्तुस्थितिको जानकारी गराएका थिए । जग्गा खाली गराउने सन्दर्भमा नगर विकास समितिले पछिल्लोपटक सर्वदलीय तथा सर्वपक्षीय निर्णय गरेर अन्तिम पटकका लागि भन्दै वैशाख २५ गते सातदिने सूचना जारी गरेको थियो । तर सोमबार अन्तिम दिनसम्म पनि जग्गा कब्जा गर्नेहरूले जग्गा खाली गर्नुको सट्टा उल्टै सार्वजनिक रूपमा हिंसा भड्काउने खालका अभिव्यक्ति सार्वजनिक गरेका थिए ।
यहीबेला अघिल्लो बुधबारदेखि बाँकेका प्रमुख जिल्ला अधिकारी पनि बिना खबर काठमाडौँतिर गएका थिए । जसका कारण जग्गा फिर्ता गराउने विषयमा अन्योल सिर्जना भएको थियो । सूचनाको अन्तिम समयसम्म पनि जग्गा खाली गर्ने कुरामा जग्गा कब्जा गर्नेहरू तयार नदेखिएपछि र प्रशासनको सहयोगमा बल प्रयोगको अवस्था पनि नभएपछि नगर प्रमुख आचार्य सोमबारै गृहमन्त्री भेट्न काठमाडौँ हिँडेका थिए ।
उनले यस विषयमा पहिला गृहमन्त्रीको ध्यानाकर्षण गराउने र यो समस्यालाई गम्भीर रुपमा नलिइए आफूले दलका नेताहरुको ध्यानाकर्षण गराउने, पत्रकार सम्मेलन गर्नेदेखि अनशन बस्नेसम्मका काम गर्न पछि नपर्ने घोषणा गरेका थिए ।
मंगलबार बाँके क्षेत्र नम्बर १ संघीय सांसद सूर्यप्रसाद ढकाल र लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीसहित उनले गृहमन्त्री लामिछानेलाई भेटेका हुन् । भेटमा गृहमन्त्रीलाई यहाँको वस्तुस्थितिबारे जानकारी गराइएको र जग्गा फिर्ता ल्याउने सम्बन्धमा छिट्टै निर्णय लिन गृहमन्त्री लामिछानेलाई आग्रह गरेका थिए ।
नगर प्रमुख आचार्यले मंगलबार गृहमन्त्री रबि लामिछानेलाई भेटेर यहाँको वर्तमान वस्तुस्थितिका बारेमा जानकारी गराइएको बताए । कोहलपुरको अतिक्रमित जग्गा फिर्ता गराउने सन्दर्भमा कुनै प्रगति हुन नसकेको र यही समयमा बाँके प्रमुख जिल्ला अधिकारीविहीन अवस्थामा रहन पुगेको गृहमन्त्रीलाई जानकारी गराएका थिए ।
‘ठिक यही बेला बाँके प्रमुख जिल्ला अधिकारीविहीन छ,’ नगर प्रमुख आचार्यले भने, ‘तत्काल प्रमुख जिल्ला अधिकारी पठाइदिएर अतिक्रमित संरचना हटाउने वातावरण निर्माणका लागि गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका छौं ।’
नगर विकास समितिको स्वामित्वमा रहेको अतिक्रमित संरचना खाली गराउन गृहमन्त्री पनि सकारात्मक देखिएको पनि उनले उल्लेख गरेका छन् । अबको केही दिनमा बाँकेले प्रमुख जिल्ला अधिकारी पाउने र अतिक्रमित जमिन खाली गराउने कामलाई निरन्तरता दिने प्रतिबद्धता समेत गृहमन्त्रीबाट आएको नगर प्रमुख आचार्यले मिसन टुडेलाई बताए ।
गृहमन्त्री लामिछानेले थप एक हप्ताको सूचना निकालेर जग्गा खाली गर्न अनुरोध गर्ने र यदि नहटेमा बल प्रयोग गरेर भए पनि जग्गा खाली गराइने प्रतिबद्धता जनाएको बाँके क्षेत्र नम्बर १ का संघीय सांसद सूर्यप्रसाद ढकालले जानकारी दिए ।
‘एक हप्तामा पनि नहटे म आफैँले बल प्रयोगको कमान्ड गर्नेछु,’ गृहमन्त्री लामिछानेको भनाइ उद्धृत गर्दै सांसद ढकालले मिसन टुडेसँग भने, ‘कोहलपुरको मात्र होइन देशैभरिको लालपुर्जावाला सरकारी जग्गा फिर्ता ल्याउने अभियानमा म छु ।’ सांसद ढकालले तीन दिनभित्र बाँकेमा प्रमुख जिल्ला अधिकारी पठाउने प्रतिबद्धतासमेत गृहमन्त्रीले जनाएको जानकारी दिए ।
नगर प्रमुख आचार्यले पनि गृहमन्त्री यस विषयमा सकारात्मकै भएको बताए । अब बाँकेमा आउने प्रमुख जिल्ला अधिकारीलाई यस विषयलाई प्राथमिकतामा राखेर काम गर्नेगरी पठाइने पनि गृहमन्त्रीले बताएको उनले जानकारी दिए ।
‘गृहमन्त्रीज्यूूले अब २–३ दिनमा बाँकेमा सिडिओ पठाउँछौँ भन्नुभएको छ,’ नगर प्रमुख आचार्यले भने, ‘यहाँ आउने सिडिओलाई यो विषयमा सम्पूर्ण जानकारी गराएर पठाउने र उहाँले यो काम गर्ने पनि गृहमन्त्रीज्यूको भनाइ छ ।’
नगर प्रमुख आचार्यको टोलीले गृहमन्त्रीसँगै गृहसचिवसँग पनि भेट गरेर यो विषयमा छलफल गरेको थियो । गृहमन्त्री र गृहसचिव दुवै जना यस विषयमा जानकार र चिन्तित रहेको आफूहरूले पाएको नगर प्रमुख आचार्यले बताए ।
कोहलपुर नगरपालिकाले पटक–पटक कोहलपुर नगर विकास समितिको जग्गा कब्जा गरेर बनाइएका संरचना हटाउने निर्णय भए पनि कार्यान्वयनमा भने आउन सकेको छैन । तर अव्यवस्थित, भूमिहीन तथा सुुकुम्बासी समिति कोहलपुरले नगर विकास समितिले जारी गरेको सूचनाप्रति खेद व्यक्त गर्दै यसले नेपालको संविधान र अदालतको समेत खिल्ली उडाएको दाबी गरेको छ ।
समितिका तर्फबाट अध्यक्ष जीवन थापामगरले जारी गरेको विज्ञप्तिमा पुनरावेदन र सर्वोच्च अदालतका फैसला कार्यान्वयन नगरिएको, व्यक्तिगत घटना दर्तासम्बन्धी परिपत्र उल्लंघन गरिएको, दलित, भूमिहीन सुकुम्बसीका र अव्यवस्थित बसोबासीका समस्या समाधान गरिनुको साटो बल्झाउने काम गरिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ– ‘व्यवस्थापन बिना बस्ती उठाउने कुचेष्ठा गरिएछ भने हाम्रा लागि सैह्य हुनेछैन । जसबाट हुन आउने सम्पूर्ण दुर्घटनाको जबाफदेही स्वयम् कोहलपुर नगरपालिका वा सम्बन्धित निकाय नै हुनुपर्नेछ ।’
प्रतिक्रिया दिनुहोस्