बाँके ।
निर्माण कम्पनीले हस्तास्तरण गरेको १० दिनमा इलाका प्रहरी कार्यालय जयनगर बर्दिया परिसरको पर्खाल भत्किएको छ । गत वैशाख २० गतेमात्र लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले सोही परिसरमा रहेको कार्यालय भवनको उद्घाटन गरेका
थिए ।
कार्यालय भवनसहित पर्खाल निर्माण गरेर एमपी कन्स्ट्रक्सन बाँकेले इलाका प्रहरी कार्यालय जयनगरलाई हस्तास्तरण गरेको थियो । शनिबार आएको हावाहुरीसहितको पानीले कार्यालय परिसरमा लगाइएको पर्खाल भत्किएको हो ।
हावाहुरीसहितको पानीले करिब ५५ मिटरजति पर्खात भत्किएको एमपी कन्स्ट्रक्सनका सब–इन्जिनियर तेज केसीले जानकारी दिए ।
‘केही दिनअघि मात्रै कार्यालय परिसरको फिल्डमा रोलर लगाइएको रहेछ,’ उनले मिसन टुडेसँग भने, ‘त्यसको कम्पन पर्खालले धान्न सकेन । तार अड्याउनका लागि ४०÷४५ वटा पिल्लरसमेत त्यही पर्खालमा थिए ।’
लुम्बिनी प्रदेश सरकारको बजेटमा कार्यालय भवन निर्माण भएको थियो । सम्झौतामा पर्खाल बनाउने उल्लेख नभएको बताउँदै सब–इन्जिनियर केसीले कार्यालयको आग्रहमा पछिमात्रै पर्खाल लगाएर तारबार गरिएको जानकारी दिए ।
‘सुरुमा सम्झौता हुँदा जमिनमा खम्बा गाडेर तारबारमात्रै गर्ने सम्झौता थियो,’ उनले भने, ‘पछि पर्खालमा पिल्लर राखेर तारबार गर्नुपर्छ भन्ने आयो । हामीले सोही अनुसार नै पर्खाल लगाएर तारबार गरिदियौँ ।’
त्यहाँको भौगोलिक अवस्थाका कारणले समेत अहिलेको अवस्था सिर्जना भएको उनले दाबी गरे । भत्किएको पर्खालको फेरि निर्माण कार्य आइतबारबाटै एमपी कन्स्ट्रक्सनले थालिसकेको छ ।
पर्खाल भत्किएपछि इलाका प्रहरी कार्यालय जयनगरले निर्माण कम्पनीलाई बोलाएर फेरि पर्खाल बनाउन निर्देशन दिएको थियो । त्यसपछि लगत्तै निर्माण व्यवसायीले मजदुरहरू खोजेर भत्किएको पर्खालको निर्माण थालिसकेको जयनगर प्रहरीले जनाएको छ ।
सब–इन्जिनियर केसीले समेत आइतबारबाटै भत्किएको पर्खालको काम थालिएको जानकारी दिए । ‘कार्यालय परिसरमा रहेको भत्किएको पर्खालको निर्माण गर्ने काम सुरु गरिसकेका छौँ,’ उनले भने, ‘मजदुरहरू खोजेर हामीले तत्कालै भत्किएको ठाउँमा नयाँ पर्खाल निर्माण काम सुरु गरेका हौँ । केही दिनमा काम सम्पन्न हुन्छ ।’
कार्यालय परिसरमा बनाइएको पर्खाल भत्किए पनि भवनलगायतका अन्य संरचनामा भने कुनै असर नपुगेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्