लागु औषध कारोबारी पक्राउ गर्न गनापुरमा प्रहरीले चलायो गोली, दुईजना पक्राउ



कृष्ण ओली । बाँके ।

बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा गोली चलेको छ । बिहीबार बिहान १० बजेको समयमा लागु औषध कारोबारीलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले गोली चलाएर दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरिएको पुष्टि गरे ।

लागु औषध नियन्त्रण ब्युरो काठमाडौंबाट खटिएको प्रहरी निरीक्षक रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले लागुऔषध कारोबारी नियन्त्रणमा लिने क्रममा गोली चलाएको थियो ।

कोहलपुर नगरपालिका–१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरेर ब्युरोले टोलीले पक्राउ गरेको छ ।

परियार भाग्न खोजेपछि प्रहरीले गोली चलाएको एसपी कार्कीले जानकारी दिए । परियाको खुट्टामा गोली लागेको छ । उनीसँगै प्रहरीले प्रमोद कार्कीलाई समेत पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ११४ ग्राम लागुऔषध ब्राउनसुगर समेत बरामद भएको एसपी कार्कीले मिसन टुडेलाई जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख २७ गते बिहीबार