खजुरा प्रहरीको नयाँ कार्यालय भवन उद्घाटन



खजुरा ।

इलाका प्रहरी कार्यालय धनौली खजुराको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले भवनको उद्घाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले समाजमा फैलिएको नकारात्मक भावनालाई सकारात्मकतामा रूपान्तरण गर्ने जिम्मेवारी प्रहरीमा आएको बताएका थिए । पछिल्लो समय समाजमा नकारात्मकता र निराशा फैलिएको उल्लेख गर्दै डिआइजी कडायतले प्रहरीले पीडितमैत्री बनेर समाजलाई सकारात्मक भावनामा ल्याउनुपर्नेमा जोड दिए । ‘जहाँ समाज रहन्छ त्यहीँ प्रहरी हुन्छ,’ उनले भने, ‘नागरिकमा सबैभन्दा पहिला पुग्ने निकाय नै प्रहरी हो । जनताको सुझाव अनुसार नै प्रहरीले काम गर्नुपर्छ ।’

प्रहरी जतिबेला पनि जुनसुकै ठाउँमा खट्न सक्ने भएकाले समयसापेक्ष भएर परिमार्जित हुँदै कार्यसम्पादन गर्न उनले डिजिटल अपराधको सामना गर्न आवश्यक रहेकोमा जोड दिए । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गैरकानुनी काम गर्नेहरूले प्रहरी र प्रशासनलाई फुटाएर लाभ लिन प्रयास गर्ने गरेको बताए ।

त्यसैले कसैको बहकावमा नआएर काम गर्न प्रहरी कर्मचारीलाई उनले आग्रह गरे । ‘गैरकानुनी कार्य गर्नेहरूले सिडिओ र एसपीलाई मिलाइसकेका छांै, तपाईं पनि मिल्नुस् भन्दै लोभ देखाउन सक्छन्,’ उनले प्रहरी अधिकारीहरूलाई लक्षित गर्दै भने, ‘अपराधीहरूको प्रयास नै फुट पारेर फाइदा लिने भएकाले सजक बन्नु पर्दछ ।’

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक ‘तुफान’, उपाध्यक्ष मन्जु मल्ल, बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीलगायतले नयाँ भवनबाट नागरिकले अझै राम्रो सेवा पाउने विश्वास व्यक्त गरेका थिए ।

३ करोड २९ लाख ८३ हजार ८ सय ५८ रुपैयाँ लागतमा बनेको तीन तला भवनमा प्रशासनिक भवन, ब्यारेक तथा थुनुवा कक्ष साथै भान्छा, शौचालय र स्नान घर निर्माण भएको छ । प्रहरी कार्यालयको भवन सशस्त्र युद्धका क्रममा बम विस्फोटबाट ध्वस्त भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार