कोहलपुरको ११औं स्थापना दिवसः भव्यताका साथ मनाउने तयारी



कोहलपुर ।

कोहलपुर नगरपालिकाले आफ्नो ११औं स्थापना दिवस भव्यताका साथ मनाउने तयारी थालेको छ । कोहलपुरलाई नगरपालिका घोषणा भएको दिन पारेर वैशाख २५ गते ११औं स्थापना दिवस मनाइँदै छ । स्थापना दिवसलाई भव्य बनाउनका लागि तयारी थालिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

‘विभिन्न समिति र उपसमिति बनाएर स्थापना दिवसको अवसरमा गरिने कार्यक्रमको तयारी सुरु भइसकेको छ,’ उनले मिसन टुडेसँग भने, ‘स्थापना दिवस विभिन्न कार्यक्रम गरी वैशाख २५ गते मनाउने तयारी भइरहेको छ ।’

दिवसका अवसरमा हुने कार्यक्रमहरू शनिबारदेखि सुरु हुने कोहलपुर नगरपालिकाले जनाएको छ । रक्तदान, सरसफाइ, खेलकुदलगायतका २२ वटा कार्यक्रमहरू स्थापना दिवसको अवसरमा गर्ने तय गरिएको ११औं स्थापना दिवस कार्यक्रम कार्यान्वयन समितिका संयोजक वीरेन्द्रकुमार शाहले जानकारी दिए ।

उनका अनुसार दिवसको अवसरमा गरिने औपचारिक कार्यक्रम भने वैशाख २५ गते मंगलबार बिहान न्युरोडस्थित खुला मञ्चमा गरिनेछ ।
‘कार्यक्रमहरूलाई समेत कसरी भव्य र सभ्य बनाउन सकिन्छ भनेर हामीले तयारी गरेका छौं,’ संयोजक शाहले भने, ‘तयारीका लागि विभिन्न उपसमितिहरू निर्माण गरिएको छ । उपसमितिहरूले आफूले पाएको काम गरिरहेका छन् ।’

रक्तदान, सरसफाइ, स्वास्थ्य चेकजाँच कार्यक्रम, विभिन्न खेलकुद, वक्तृत्वकला, कविता वाचन र नृत्य प्रतियोगिता दिवसका अवसरमा हुने उनले जानकारी दिए । त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट शिक्षक तथा कर्मचारी, उत्कृष्ट नगर प्रहरी, उत्कृष्ट करदाता, उत्कृष्ट स्वयंसेविका सम्मानलगायतका कार्यक्रमहरू तय भएका छन् ।

२५ गतेको औपचारिक कार्यक्रममा हुनेबाहेकका अन्य सबै कार्यक्रमहरू शनिबारदेखि सोमबारसम्म समापन भइसक्ने नगर उपप्रमुख संगीता सुबेदीले जानकारी दिइन् । शनिबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच फुटबल र खुला कविता वाचन प्रतियोगिता हुनेछ । फुटबल बिहान कोहलपुरस्थित तेह्र बिघा मैदानमा र कविता वाचन नगर सभा हल हुने तय भएको छ ।

आइतबार नगर सभा हलमा लागूऔषध नियन्त्रणमा युवाको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता हुनेछ । प्रतियोगितामा नगरभित्रका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले भाग लिन पाउनेछन् ।

नगरपालिकामा सोमबार रक्तदान कार्यक्रम, दौड, नृत्य र सरसफाइ कार्यक्रम गर्ने तय गरिएको छ । छात्र पाँच हजार मिटर र छात्रा तीन हजार मिटर दौडमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरू सहभागी हुन पाउने संयोजक शाहले जानकारी दिए । उनका अनुसार सोही दिन दिउँसो नगर सभा हलमा हुने नृत्य भने विद्यालयस्तरीय हुनेछ ।

शनिबार, आइतबार र सोमबार जनप्रतिनिधि र कर्मचारीबीच पुरुष ब्याटमिन्टन प्रतियोगिता सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।
औपचारिक कार्यक्रममा खेलकुदलगायतका प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडीहरूलाई सम्मान, एक जना शिक्षक, एक जना विद्यालय कर्मचारी, अधिकृत तहका एक जना, सहायक तहका एक जना, कार्यालय सहयोगी एक जना र एक जना नगर प्रहरीलाई सम्मान गरिनेछ ।

एक जना करदाता, निर्माण व्यवसायी एक जना, स्वयम्सेविका तीन जनालगायतसमेत विभिन्न विधामा सम्मान गर्ने कार्यक्रम तय भएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । दिवसको अवसरमा सोमबार र मंगलबार कोहलपुर नगरपालिका अन्तर्गतका सबै कार्यालयहरूमा दिपावलीसमेत गरिने उनले बताए ।

प्रकाशित मिति : २०८१ वैशाख २१ गते शुक्रबार