17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

बाँकेका सरकारी कार्यालयको सेवा प्रवाहबारे कांग्रेसको ध्यानाकर्षण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१  

नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेले सार्वजनिक सेवा प्रदायक कार्यालयहरूका बारेमा पछिल्लो समय व्यापक जनगुनासो आइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सभापति नारायणप्रसाद गौडेलले सोमबार विज्ञप्ति प्रकाशित गरी छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने कार्यालयहरूमा ब्याप्त बेथिति, ढिलासुस्ती, अनियमितता र आर्थिक चलखेलका गुनासाहरू आउनुलाई दुर्भाग्यको संज्ञा दिएका छन् ।

कांग्रेसले सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहीन बनाउन विशेष चासो दिन पनि ध्यानाकर्षण गराएको छ । ‘नेपाली कांग्रेस जनताका समस्यालाई नजिकबाट नियालेर समाधानार्थ पहल लिने र दबाब सिर्जना गर्न अग्रसरता लिने पार्टी हो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास भइरहेको देशमा कुनै पनि बहानामा जनताले पाउने सेवा सुविधा र अधिकार संरक्षणका सवालहरूलाई नजर अन्दाज गर्न मिल्दैन,’ गौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुक संघीयतामा गएपछि घर छेउबाटै सहजै सेवा पाउने अभिलाषालाई निराश बनाउने गरी जनताको चाप रहने सरकारी कार्यालयहरूले कुनै पनि कर्म गर्नु हुँदैन भन्नेमा नेपाली कांग्रेस बाँके प्रष्ट छ ।’

जनताका कामकाजसँग प्रत्यक्ष जोडिएका सरकारी कार्यालहरूका बारेमा विगतदेखि नै निर्माण हुँदै आएको नकारात्मक भाष्यलाई बदलिएको शासन व्यवस्थामा पनि सुधार गर्न सकिएन भने व्यवस्थाप्रति नै निराशा बढ्ने भन्दै सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहीन बनाउनका लागि विशेष चासो राख्न कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

‘व्यापक जनगुनासो आइरहेका कार्यालयहरूमा नियमित अनुगमन र सेवा सुधारका लागि गम्भीर बन्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१     11:26:49 AM  |