17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

नेपालमा प्रतिबन्धित औषधी बेच्ने बर्मा अञ्जला मेडिकल सिल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१  

बाँके ।

नेपालगन्जमा सञ्चालित एउटा औषधी पसललाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको संयुक्त अनुगमन टोलीले सोमबार उक्त पसल सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा कैफियत पाइएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ मा सञ्चालित बर्मा अञ्जला मेडिकल हललाई सिल गरेको थियो ।

सर्वसाधारणले गरेको गुनासोका आधारमा उक्त औषधी पसलमा अनुगमन गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार शाहले जानकारी दिए । ‘उक्त औषधी पसलका बारेमा सर्वसाधारणले गुनासो गरेका थिए, गुनासोका आधारमा अनुगमनका क्रममा गैरव्यक्तिबाट औषधी पसल सञ्चालन गरेको पाइयो,’ उनले भने ।

निरीक्षक शाहले उक्त औषधी पसल सञ्चालन गर्न अनुमति लिएका व्यक्ति पसलमा नबसेर अनुमति प्राप्त नगरेका अर्का एक जना गैरव्यक्ति बसेर औषधी वितरण गर्नुका साथै नेपालमा दर्ता नभएका औषधीसमेत सञ्चय गरेको पाइएकाले पसललाई सिल गरिएको बताए ।

आवश्यक थप अनुसन्धानका लागि पसलका सञ्चालकलाई औषधी व्यवस्था विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिए ।

 

प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१     11:22:05 AM  |